कर्णाली

विकास निर्माणमा पहुँचवालाकै रजाईँ

लक्ष्मी भण्डारी |
भदौ २९, २०७९ बुधबार १०:४ बजे

सुर्खेत - विकास निर्माणका काममा पहुँचवालाकै रजाईँ भएको कारण कर्णालीमा सुशासन प्रवर्द्धन हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश तथा स्थानीय तहका सरकारका विकास निर्माणका हरेक कामहरू पहुँचकै आधारमा वितरण हुने गरिएको कर्णालीका नागरिक अगुवाहरूको गुनासो छ । 

सहकर्मी समाजले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलनका सहभागीहरूले मुख्यमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै यसको दायरा फराकिलो गराउनुपर्ने माग गर्नुका साथै स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताए । कर्णाली सरकारले टुक्रे योजनाहरूको साटो एकीकृत विकासको अवधारणा ल्याउनुपर्नेमा उनीहरूको जोड थियो । 


नगरिक अगुवा अनिल ढकालले स्थानीय तथा प्रदेश सरकारले आवश्यकता भन्दा पनि पहुँचकै आधारमा बजेट छुट्याउने हुँदा समस्या भएको बताएका छन् । उनले संघले प्रदेश र स्थानीय तहलाई आवश्यक अधिकार नदिइएको औल्याए । 

नागरिक अगुवा एंव कानुनका विद्यार्थी विनिता बोगटीले स्थानीय सरकारले दलबादी व्यवहार हाबी हुँदा गुणस्तरीय सेवा प्रवाह हुन नसकेको औल्याइन् ।  तीन तहकै सरकारले नीति निर्माण गरेता पनि कार्यान्वयन भने हुन नसकेको अवस्था रहेको उनको भनाइ थियो । लक्षित वर्गका केही कार्यक्रमहरू प्रभावकारी देखिएपनि प्रदेश सरकार र स्थानीय सरकारहरू पारदर्शी ढंगले कार्यक्रमहरू सञ्चालन नभएको उनले बताइन् । 

यता प्रदेशसभा सांसद मिनासिंह रखालले कर्णाली सरकार समावेशी नभएको भन्दै संविधानले दिएको कार्यान्वयन नभएको बताइन् । ‘हरेक ६ महिनामा मन्त्री बदल्ने प्रवृत्ति बढेको छ ।  सबैलाई मन्त्रीको भागवण्डा पुरा गर्न लागिपरेको छ सरकार’ उनी भन्छिन् ,  ‘अहिले केही दिनको लागि महिला मन्त्री बनाएका हुन् । समावेशीका नाममा हामी जति कराए पनि कार्यान्वयन भएको छैन ।’ ३३ प्रतिशत महिला कुनै पनि दलले सहभागिता  नगराएको उनको भनाइ छ । 

सल्यानको सिद्धकुमाख गाउँपालिकाका  उपाध्यक्ष रामबहादुर बस्नेतले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन हुन नसक्नु चुनौतिको विषय रहेको औल्याए । त्यसैगरी यता साझा अधिकारको क्षेत्रमा काम गर्ने ऐन नबन्दा समम्स्या भएको उनको भनाइ थियो । 

उनले वडामा पावरका आधारमा बजेट ल्याउने गरेको बताउँछन् । ‘अध्यक्ष र उपाध्यक्षको बीच ठूलो टकराव छ त्यसले समस्या छ’ उनी भन्छन्,  ‘उपाध्यक्षलाई हेप्ने काम । प्रमुख नै सबै कुरामा हावी भएको अवस्था छ ।’ 

यता जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पलिकामा स्वतन्त्र भएर काम गर्न नसकिएको बताए । राम्रो काम गर्न खोज्दा दवाव आउने हुँदा काम गर्न सकस भएको बताउँछन् । दल र ठूला नेताका दवावका कारण काम गर्न समस्या भएको उनको गुनासो थियो । 


 


Author

थप समाचार
x