कर्णाली

कर्णालीका जनप्रतिनिधिको अनुभव

‘काम गर्न स्वतन्त्र मेयर हुनुपर्ने रहेछ’

लक्ष्मी भण्डारी |
भदौ २९, २०७९ बुधबार ११:० बजे

सुर्खेत - पालिकामा राम्रो कामको सुरुवात गर्न खोज्दा दबाब आउने गरेको कर्णालीका जनप्रतिनिधिहरूको गुनासो छ । कुनै नयाँ काम गर्न खोज्दा आफ्नै दलबाट दबाब आउँदा काम गर्न सकस भएको उनीहरूले गुनासो गरेका हुन् ।

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राम्रो काम गर्ने योजना बनाएर अघि बढ्दा आउने फोन र दबाबले काम प्रभावित भएको बताए । कर्णाली प्रदेश स्तरीय सुशासन सम्मेलनमा घर्तीले स्वतन्त्रबाट निर्वाचन जितेका जनप्रतिनिधिभन्दा दलबाट आएका जनप्रतिनिधिलाई काम गर्न बाधा अवरोध आउने गरेको अनुभव सुनाए ।


‘साँचिकै काम गर्न स्वतन्त्रको मेयर हुनुपर्दाे रहेछ’ मेयर घर्तीले भने, ‘काठमाडौंमा बालेन र धरानमा हर्कलाई जति सहज छ, त्यो हामीलाई समस्या छ । जब कामको स्पिडमा जान खोज्यो भने यस्तो फोन र दबाब आइदिन्छ कि काम गर्न सकिँदैन ।’ अलि फरक काम गर्न खोज्दा ठूलै नेताबाट दबाब आउँने गरेको उनको भनाइ छ ।

त्यसैगरी सल्यानको सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले पालिकामा सहज रुपमा काम गर्न नसकिएको बताउँछन् । पालिकामा काम भन्दा बढी राजनीतिकरण हाबी हुँदा प्रभावकारी कामहरू हुन नसकेको अनुभव सुनाए ।

साविकका गाउँ विकास समिति हुँदा लक्षित वर्गलाई जुन् रुपमा बजेट छुट्याइन्थ्यो अहिले पालिकामा त्यो अवस्था नरहेको उनको भनाइ छ । ‘वडामा पावरका आधारमा बजेट ल्याउने  प्रचलन बढेको छ’ उनी भन्छन्, ‘अहिले आवश्यकता भन्दा पनि पावरका आधारमा बजेट वितरण हुन्छ ।’

अहिले प्रदेशमा अध्यक्ष र उपाध्यक्षबीच धेरै पालिकामा विवाद देखिएको उनी बताउँछन् । ‘प्रदेशका धेरै पालिकामा प्रमुख र उपप्रमुखबीच ठूलो टकराव रहेको छ’ उनी भन्छन्, ‘ प्राय पालिकाका प्रमुखहरूले भएको सबै अधिकार आफ्नो मात्र हो भन्ने मानसिकता हावी छ ।’ उपप्रमुख तथा उपाध्यक्षलाई हेप्ने र प्रमुख नै सबै कुरामा हाबी भएको अवस्था छ रहेको उनको भनाइ छ ।

संविधान राम्रा बने पनि  शासकका सोचमा परिवर्तन नहुँदा समस्या आएको बस्नेत बताउँछन् । ‘स्थानीय सरकार भएको हामी जनप्रतिनिधिले नै सरकारको अनुभूति गर्न पाएका छैनौ’ उनले दुखेसो पोखे, ‘पालिकाका प्रमुख र उपप्रमुखबीचमा बढ्दो विवादले कामहरू प्रभावकारी हुन सकेको छैन ।’


Author

थप समाचार
x