कर्णाली

यस्तो छ कर्णालीमा दसैं-तिहारको सुरक्षा योजना

इकागज |
असोज ७, २०७९ शुक्रबार १९:९ बजे

सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैं, तिहार र छठ पर्वको सुरक्षा योजना तयार गरेको छ ।

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउने र अवाञ्छित अपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रहरीले चाड पर्व सुरक्षा कार्य योजना तयार पारेको हो । आगामी असोज ९ गतेदेखि लागू गर्नेगरी दसैं-तिहार सुरक्षा योजना तयारी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


चाडपर्वका बेलामा कुनै पनि किसिमको अप्रिय घटना हुन नदिनका लागि योजनाबद्ध प्रहरी परिचालन, अनुगमन र नियन्त्रण गर्न मातहतका जिल्लाहरूमा सुरक्षा योजना लागू गर्न निर्देशन दिइएको प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रदेशमा हुनसक्ने गुण्डागर्दी, चोरी, लुटपाट, ग्याङ फाइट, जुवातास जस्ता अपराधिक घटनाहरू र ट्राफिक नियमको उल्लङ्घन एवं सवारी दुर्घटना महिला तथा बाल बालिकामाथि हुनसक्ने दुर्व्यवहार लागूऔषध बेचबिखन तथा ओसार पसार, भन्सार तस्करी, अवैध हातहतियारको ओसार पसार तथा सोको प्रयोगबाट हुने गम्भीर प्रकृतिका घटना, दुर्घटनालाई नियन्त्रण गर्ने प्रहरीको योजना छ ।

सुरक्षा योजना अन्तरगत मुख्य बजार क्षेत्र, बढी किनमेल हुने क्षेत्र र नाकामा साधा पोसाकमा समेत प्रहरी परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । त्यस्तै घटनाको तत्काल रेस्क्यु गर्नका लागि २४ सै घण्टा यातायातका साधनसहितका सुरक्षार्कीहरू तयारी अवस्थामा राखिएको छ । १० वटै जिल्ला सदरमुकाम, व्यापारिक केन्द्र र बैंक तथा वित्तीय संघ संस्थामा प्रहरी परिचालन गरिने छ ।

अति संवेदनशील मानिएका क्षेत्रमा मोवाइल टोली र साधा पोसाकका सुरक्षाकर्मी खटाइने श्रेष्ठले बताए । त्यस्तै राजमार्गको ट्राफिक प्रहरी, बसपार्क तथा बस स्टेसनमा नागरिक हेल्प डेस्क र मुख्य राजमार्गमा चेकजाँचलाई समेत कडाई गर्ने प्रहरीको योजना छ ।

त्यस्तै जुवातास खेल्ने/खेलाउने क्षेत्रमा विशेष निगरानी बढाउने, घरेलु हिंसा तथा अपराधिक जन्य घटना हुन नदिन घरेलु मदिरा नियन्त्रण र लागूऔषध कारोबार हुनसक्ने क्षेत्र विशेष सुरक्षा परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x