कर्णाली

दसैँ चहलपहल : गाउँघर फर्किदै परदेशी

लक्ष्मी भण्डारी |
असोज १२, २०७९ बुधबार १८:४२ बजे

सुर्खेत- कलिकोटका हर्क सुनार बुधबार वीरेन्द्रनगरको सिटी बसपार्कमा हतारहतार झोला मिलाउँदै थिए । दसैँका लागि चाहिने सामानहरू किनमेल सकेर टिकट हातमा लिएर गाडी चढ्ने प्रतिक्षामा थिए उनी । आफू दसैँ मान्नका लागि भारतबाट फर्किएको उनले बताए । उनलाई घर पुग्ने हतारो थियो । कमाइका लागि हर्कको परिवार नै भारतको सिम्ला बस्दै आएको छ । ‘वर्ष दिनमा एक पटक आउने चाडमा बुबाआमाको हातबाट टीका लगाउन घर फर्किएको हुँ,’ उनले भने, ‘सधैँ मनाइ आएको पर्व मनाउनै पर्याे,’ कमाइका लागि भारत जानुपर्ने बाध्यता रहेको हर्क बताउँछन् । उनले दसैँ लगत्तै फेरि भारत फर्किहाल्ने योजना पनि सुनाए ।

दैलेखका खिमबहादुर नेपाली पनि बसपार्कका वरिपरी रहेका पसलमा मिठाई र कपडा किन्दै थिए । उनी झण्डै एक वर्षपछि भारतबाट फर्किएका रहेछन् । ‘पोहर साल दसैँ मनाएर कमाउन गएको थिएँ, एक वर्षपछि फर्किदै छु,’ उनले भने, ‘अघिल्लो पटक कोरोनाले गर्दा कमाई पनि भएन, चाडबाड राम्रोसँग मान्न पाएनौँ अब यसपालि सबै परिवार बसेर मनाउनुपर्ला ।’ वर्षभरी लगाएको खेतीले खान मुस्किल हुने भएपछि खिमबहादुरको परिवार भारतको कमाइमा निर्भर छ । उनी भन्छन्, ‘भारत नगए परिवारको गुजारा नै चल्दैन ।’


केही दिनयता बसपार्कहरूमा घर फर्किनेको निकै चहलपहल बढेको छ । सहर बजारबाट गाउँ जानेको ताँती देखिन्छ । रोजगारी, पढाइ तथा काम विशेषले बाहिर रहेकाहरू दसैँ लागेसँगै धमाधम गाउँ फर्कन थालेका छन् । कर्णालीका ग्रामीण भेगका थुप्रै नागरिक कमाइका लागि भारत जाने गर्छन् । उनीहरू दसैँ-तिहारजस्ता ठूला पर्वमा गाउँ-घरमा फर्कन्छन् । यहाँ चाडपर्वकै लागि खर्चको जोहो गर्न भारत जानेहरू पनि धेरै छन् । दुई/चार महिनाका लागि विदेशिएकाहरू यसै बेला फर्कन्छन् । गाउँमा रोजगारीका अवसर नहुँदा बाहिरिएकाहरू अहिले दसैँ मान्न आइरहेका हुन् । विदेश गएका परदेशीहरू घरमा फर्किन थालेपछि गाउँ-घरमा समेत चहलपहल बढेको छ ।

रोजगारीको सिलसिलामा दुई वर्ष पहिले दुबई गएका दैलेखको नौमुले गाउँपालिकाका तेजबहादुर चन्द पनि दसैँ मान्न घर फर्किएका छन् । यतिबेला गाउँ जानेको चापले गाडीको टिकट पाउनै मुस्किल छ । मंगलबार वीरेन्द्रनगर बसपार्कमा टिकटका लागि पुगेका जुम्लाका शेरबहादुर शाहीले टिकट नै नपाएको गुनासो गरे । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका डम्मर भण्डारी पनि टिकट नपाएर निराश देखिन्थे ।

यातायात व्यवसायीहरूका अनुसार यात्रुको चाप बढेकाले टिकटमा केही समस्या छ । सुर्खेतबाट कर्णालीका अन्य जिल्लाका लागि छुट्ने गाडीहरूमा एक दिन अगावै टिकट काट्ने गरिएको छ । सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले चाडपर्वमा मानिसहरूको चहलपहल बढेपछि थप गाडीहरू सञ्चालनमा ल्याइएको बताए । ‘चाडबाडको समयमा मानिसहरू धेरै हुने भएकाले सीट मिलाउन समस्या नै छ । जसले गर्दा यात्रुलाई एक दिन अगाडि नै टिकट लिन भनेका छौँ,’ उनले भने, ‘यात्रुहरूलाई सहजताका लागि हामीले व्यवस्थापन गरिरहेका छौँ ।’

त्यसैगरी दसैँ-तिहारजस्ता चाडपर्व लक्षित गरेर सुर्खेतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरूलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सुर्खेतले यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले दसैँ-तिहारको समयमा विगतमा धेरै ठूला दुर्घटना भएकाले दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

उनले दसैँ-तिहारको समयमा यात्रुको चाप बढी हुने हुँदा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्दै सुरक्षाकर्मीले सवारी अभावमा अलपत्र परेका यात्रुहरूलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गरिएको बताए । त्यसैगरी चाडपर्वमा हुनसक्ने अवाञ्छित घटनाहरू रोक्नका लागि कर्णाली प्रहरीले पनि  विशेष सुरक्षा योजना तयार पारेको छ ।


Author

थप समाचार
x