कर्णाली

सुर्खेतमा वर्षौँदेखिको चुनावी एजेन्डा : खानेपानी र लालपुर्जा

लक्ष्मी भण्डारी |
कात्तिक २९, २०७९ मगलवार १५:६ बजे

सुर्खेत- २०६४ सालयता हरेक निर्वाचनमा यस क्षेत्रका  मुख्य चुनावी एजेन्डा भनेको खानेपानी र लालपुर्जा बनेका छन् । कर्णाली प्रदेशको राजधानी भएकाले पनि यहाँ जनसंख्याको चाप बढ्दो क्रममा छ । त्यसकारण यहाँका नागरिकहरू खानेपानीको समस्या खेप्दै आइरहेका छन् ।

स्थानीयहरू वर्षाैँदेखि खानेपानीको समस्या खेप्दै आएकाले हरेक निर्वाचनमा यस क्षेत्रका उम्मेदवारहरूको प्रमुख एजेन्डाका रूपमा खानेपानीको मुद्दालाई अगाडि ल्याउने गरेका छन् । झण्डै दुई दशकअघिदेखि नै खानेपानीको एजेन्डा उठाएर चुनाव जिते तर, खानेपानीको समस्या भने नागरिकहरूले खेप्दै आइरहेका छन् । 


सुर्खेत उपत्यकामा मात्र झन्डै १५ हजार घरधुरी खानेपानीबाट वञ्चित छन् । चुनावमा मात्र पानीलाई ठूला मुद्दाका रूपमा पेस गर्ने राजनीतिक दलका उम्मेदवारहरूले अहिलेको निर्वाचनमा पनि अधिकांश दलहरूले सोही एजेन्डा अघि सारेका छन् । स्थानीय निर्वाचन होस् वा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन, दलहरूले उठाउने मुख्य एजेन्डा नै खानेपानी बनेको स्थानीय टिका डाँगी बताउँछिन् ।

‘वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि खानेपानीको एजेन्डा सबै दलले विभिन्न तरिकाले उठाए, अहिले पनि खानेपानी ल्याइदिन्छौं भन्छन्,’ उनले भनिन्, ‘चुनाव आउँदा खानेपानी ल्यादिन्छौं भन्छन् , चुनाव जितेपछि बिर्सन्छन् ?’

दुई दशकदेखि नै खानेपानी समस्या समाधानको बाचा सुन्न थालेको वीरेन्द्रनगर–६ अर्जुन वलीले बताए । उनका अनुसार उपत्यकामा खोनपानीको समस्या पुरानै भएकाले जति सहरीकरण बढ्यो उति पानीको समस्या चुलिँदै गएको छ । ‘हामीलाई त चुनावमा भन्दा पनि धारामा पानी कहिले आउँछ भन्ने चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘दुई/तीन दिन बिराएर मात्र पानी आउँछ, बुलबुले तालबाट ट्यांकरमा ल्याएको पानी खानुपर्ने बाध्यता हुन्छ ।

सुर्खेत–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयराम थानी, प्रदेश सभाका उम्मेदवार कालिप्रसाद शाक्य, एमाले उम्मेदवार यामलाल कँडेल र अमृत विसी खानेपानीकै मुद्दा लिएर नागरिकको घरदैलो अभियानमा जुटेका छन् । उनीहरू सबैले आफू निर्वाचित भए ५ वर्षमा सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान हुने भन्दै घरदैलो अभियानमा छन् ।  

त्यसैगरी यहाँका उम्मेदवारको वर्षाैँदेखिको अर्काे एजेन्डा हो सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने । सुर्खेत वीरेन्द्रनगरको वालुवाटार, मित्रनगरलगायतका बस्तीहरूमा वर्षाैँदेखि लालपुर्जाको एजेन्डा लिएर बस्तीमा जाने र भोट माग्ने गरेका छन् । ‘स्थानीय र प्रदेशको दुवै चुनावमा भोट माग्दा नेताले सम्झिन्छन्, हामीले भोट दिन्छौं पछि फर्केर आउँदैनन्,’ वालुवाटार बस्तीका स्थानीय तिलक गन्धर्बले भने, ‘हाम्रो त यहाँ पूरै बस्ती लालपुर्जाविहीन छ ।’

यो बस्ती प्रदेश राजधानी भए पनि गाउँमा अझै सडक पुगेको छैन । यहाँका स्थानीयहरू गाउँबाट झन्डै एक घण्टा जंगलको बाटो हिँडेर धुलियाबिट आएर मात्र गाडी चढ्न पाउँछन् । त्यसैगरी यो बस्तीमा शिक्षा, स्वास्थ्य तथा अन्य विकासका पूर्वाधारको अभाव रहेको छ । वर्षौंदेखि बस्तीमा भोट माग्न आउने नेताहरूले लालपुर्जाको आशा देखाउँदै आउने गरे पनि कसैले बाचा पूरा नगरेको स्थानीयहरूको भनाइ छ ।


Author

थप समाचार
x