कर्णाली

कर्णालीमा गठबन्धनलाई स्वतन्त्र–बागीको चुनौती

लक्ष्मी भण्डारी |
कात्तिक ३०, २०७९ बुधबार २१:३३ बजे

सुर्खेत– स्थानीय निर्वाचनमा पाँच जना स्वतन्त्र उम्मेदवारले प्रमुख पदमै जित हासिल गरेपछि प्रतिनिधि र सभा–प्रदेश स्वतन्त्र उम्मेदवारीको लहर छायो । तर, स्वतन्त्र उम्मेदवारी दिनेमा धेरैजसो पार्टीबाट टिकट नपाएपछि बागी बनेका हुन् । जसले गठबन्धनका उम्मेदवारलाई प्रभाव पर्न सक्ने आँकलन गरिएको छ । 

सत्ता गठबन्धनबाट जुम्लाको प्रदेशसभा–(क) का उम्मेदवार ललितजंग शाहीविरुद्ध उनकै दलबाट बागी उम्मेदवारी परेको छ । कांग्रेसको कर्णाली प्रदेश समितिका सभापति रहेका ललितजंग शाही सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । तर उनीविरुद्ध कांग्रेसकै नेता देवेन्द्र शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । देवेन्द्र शाही २०७४ मा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार बने पनि पराजित भएका थिए । 


बागी उम्मेदवारका कारण प्रदेशसभाको मात्र होइन, प्रतिनिधिसभाका उम्मेदवार पनि त्रसित छन् । प्रतिनिधिसभाका उम्मेदवार गोमा कुँवरलाई पनि बागी उम्मेदवारका कारण समस्या पर्न सक्ने आँकलन गरिएको छ । तर, कुँवर बागी उम्मेदवारीले गठबन्धनलाई खासै असर नगर्ने दाबी गर्छिन् । ‘घर–दैलो अभियानका क्रममा गठबन्धनप्रतिको नागरिकका उत्साह छ’ उनी भन्छिन्, ‘नागरिकहरुको उत्साहलाई हेर्दा गठबन्धनको विजयी पक्का छ ।’

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उनकै सहयात्री काशीचन्द्र बरालको स्वतन्त्र उम्मेदवारीले समस्या पार्ने देखिन्छ । कालीकोटमा शाही गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । शाहीलाई उनकै पार्टी माओवादीका नेता बरालको बागी उम्मेदवारीले असर पर्ने देखिएको छ । पूर्वमेयरसमेत रहेका बरालको उम्मेदवारीका कारण नेता शाहीको मत काटिने हुँदा निर्वाचनमा असर पर्न सक्ने गठबन्धनको आँकलन छ । 

रुकुम पश्चिमबाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनभित्रकै दलबाट उम्मेदवारी पर्नुले उम्मेदवारलाई चुनौति बढेको छ । 

सल्यानबाट प्रतिनिधिसभाका लागि गठबन्धन उम्मेदवार एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाहको उम्मेदवारीले चुनौति बढेको छ । पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन त्रासमा छ ।

पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेपछि परिणाम नै तलमाथि पर्ने आँकलन छ । केही यस्ता बागी उम्मेदवार पनि छन, जसले सम्बन्धित क्षेत्रको चुनावी नतिजालाई नै तलमाथि पार्न सक्ने अवस्था छ । प्रदेशभर १६ जना स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 
 


Author

थप समाचार
x