कर्णाली

कर्णालीका महिला मतदाता

जसले स्वेच्छाले भोट दिन पाउँदैनन्

लक्ष्मी भण्डारी |
मंसिर २, २०७९ शुक्रबार १५:१२ बजे

तस्बिर : सुर्खेतको गुर्भाकोट नगरपालिकाका महिला स्थानीय एक समूहमा छलफल गर्दै ।

सुर्खेत- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कुन उम्मेदवारलाई भोट दिने भन्ने विषयमा बराहताल गाउँपालिकाकी मनिसरा पुलामी पनि अनभिज्ञ छन् ।

‘घरमा छलफल हुँदैछ जसलाई भन्नुहुन्छ उसैलाई नै भोट दिनुपर्ने होला,’ उनले भनिन्, ‘भोट दिने कुरामा हामीभन्दा अगाडिको जेठाजुले जसलाई भन्नुहुन्छ उसैलाई सबै परिवारले भोट दिने गरेका छौं ।’


घर परिवारको सबै कुराहरूमा जेठाजु र श्रीमानकै निर्णय हुने भएकाले भोट दिने विषयमा पनि उनीहरूले भनेकै उम्मेदवार र पार्टीलाई दिने गरेको उनले सुनाइन् । 
विदेशबाट फोन गर्दा बराहतालकी रमना दर्लामीको सधैजसो घरव्यवहार अनि सन्चो बिसन्चोका कुराहरू हुन्थे । तर, यसपालि भने उनीहरूको कुरा गर्ने विषय फरक बनेको छ ।

अहिले उनीहरूबीच उम्मेदवार र मतदान गर्ने विषयमा पनि कुरा हुने गरेको छ । बारम्बार उनका श्रीमानले फोन गरेर फलानो उम्मेदवारलाई भोट दिनु भनेपछि उनी पनि सहमत भएकी छन् । ‘श्रीमानले भनेपछि मान्नै पर्‍यो,’ उनले भनिन्, ‘पार्टी र उम्मेदवारका विषयमा मलाई केही थाह छैन जसलाई भोट देउ भन्छन् उसैलाई दिने त होला ।’

२०४९ साल यताका सबै निर्वाचनमा मतदान गर्दै आएकी गुर्भाकोट ३ की कमला बिकले ससुरा र श्रीमानले भनेकै उम्मेदवार र पार्टीलाई नै मतदान गर्दै आएकी छन् । यसपालिको निर्वाचनमा पनि उनीहरूले भनेकै व्यक्तिलाई मतदान गर्ने तयारीमा छन् उनी । ‘माइतमा हुँदा बुवाको भनेको व्यक्तिलाई भोट हालिन्थ्यो घरमा आएपछि ससुरा र श्रीमानले भनेको व्यक्तिलाई भोट हाल्नुपर्‍यो,’ उनले भनिन्, ‘हामीले भनेकालाई त उहाँहरू नै मान्नुहुन्न त्यसैले उहाँहरू जे भन्नुहुन्छ हामी त्यही मान्न तयार भएका छौं ।’

आफ्नै स्वेच्छाले भोट नदिने यी त प्रतिनिधि महिला मतदाता मात्र हुन् । अधिकांश महिला मतदाताहरू श्रीमान् तथा घरपरिवारले भनेकै उम्मेदवार तथा पार्टीलाई नै भोट दिने गर्दछन् । जिल्लामा दुई लाख चार हजार पाँच सय मतदाता छन् जसमध्ये आधा भन्दा बढी महिला रहेका छन् ।

पछिल्लो समय रोजगारीका लागि विदेशिएकाहरूले पनि घरमा फोनबाटै भोट हाल्ने उम्मेदवार र पार्टीको नाम सुनाउँछन् । यसमा महिलाको कुनै निर्णय हुँदैन । घरमा भएकी श्रीमतीलाई  फोन गरेरै भएपनि उम्मेदवार र पार्टीलाई भोट हाल्न लगाउने गरिएको अवस्था रहेको धारापानीको प्रावि विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षक चन्द्रावती खत्री बताउँछिन् । ‘अहिले धेरैजसो वैदेशिक रोजगारीको शिलशिलामा भारत तथा विभिन्न खाडी मुलुकमा छन् उनीहरूले घरमा श्रीमती र परिवारका सदस्यलाई फोनबाटै फलानो पार्टीलाई भोट हाल्नु भनेर सिकाउँछन्,’ उनले भनिन्, ‘यसमा महिलाले यो उम्मेदवार राम्रो यो नराम्रो भनेर कुरा नै राख्दैनन् श्रीमानले जे भन्यो त्यही स्वीकार गर्छन् ।’

एकातिर महिला आफैँ अगाडि सरेर कुरा गर्दा घरपरिवारका सदस्यले पत्याउँदैनन् भने अर्काेतिर महिला आफैँ अगाडि सर्न पनि आँट गर्दैनन् जसले गर्दा महिलाको भोटमा पुरुषको निर्णय हुँदै आएको छ ।

यसरी महिलाको भोटमा पुरुषकै निर्णय हुँदा यसको नतिजामा समेत असर पुग्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका प्रध्यापक कमलराज लम्सालले बताए ।

‘महिलाको भोटमा पुरुषले नै निर्णय गर्नु कुरा गलत हो किनभने मताधिकार पारिवारिक र सामाजिक अधिकार नभई व्यक्तिगत अधिकार हो,’ लम्सालले भने, ‘यसले गर्दा पितृसत्तात्मक सोच हावी भएको बुझिन्छ ।’

यसले गर्दा महिलालाई भोट बैंकको गलत प्रयोग गरिएको देखिने उनको भनाइ रहेको छ । 

मताधिकार महिलाको व्यक्तिगत अधिकार भएकाले आफ्नै विवेकको प्रयोग गरिनुपर्ने महिला अधिकारकर्मी किमसरा खत्री बताउँछिन् । नागरिकमा सचेतना नहुँदासम्म यो समस्या यथावत् रहने उनी बताउँछिन् । 


 


Author

थप समाचार
x