कर्णाली

प्रतिवेदन सार्वजनिक

कालिकोट बम विष्फोट घटना : सशस्त्र द्वन्द्व घटनाको अवशेष अझै बाँकी

इकागज |
मंसिर १६, २०७९ शुक्रवार २०:१४ बजे

सुर्खेत- गत कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० स्थित रानावाडामा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)लगायतको मानव अधिकारको टोली घटनास्थल पुगेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

तत्कालीन माओवादी र सरकारबीच चलेको १० वर्षे लामो सशस्त्र द्वन्द्व अन्त्य भएको लामो समय भइसक्दा पनि द्वन्द्वको अवशेष अझै बाँकी रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ । सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गर्ने सन्दर्भमा बेवारिसे अवस्थामा राखिएका विस्फोटक पदार्थ निष्क्रिय नहुँदा हरेक वर्ष यस्ता घटनाहरू घट्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।


‘अहिले पनि यस्ता घटनाबाट निर्दाेष बालबालिकाहरू पीडित हुन बाध्य हुनु विडम्बना हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसका लागि स्थानीय प्रशासन र प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएर जनताको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।’

बाल अधिकारसम्बन्धी महासन्धि १९८९ नेपालको संविधान र बालबालिकासम्बन्धी नीति २०६९ ले बालबालिकालाई प्रदान गरिएको विशेष अधिकारको संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । द्वन्द्वकालीन समयमा बढी प्रयोग गरिएका स्थानमा बेवारिसे बमहरू फेला पर्न सक्ने सम्भावना भएकाले देशव्यापी रूपमा खोजी गर्ने अभियान पुनः सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले बताए ।

उनले स्थानीय प्रशासनले घाइते बालबालिकाको समयमै उचित उपचार, राहत, उच्च शिक्षाको ग्यारेन्टी र क्षतिपूर्तिका लागि उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए । ‘यस्ता घटनाहरू फेरि पनि दोहोरिन सक्ने भएकाले  विष्फोटक पदार्थहरू भेटिन सक्ने सम्भावित स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ,’ सुवेदीले भने, ‘यसका लागि तीनै तहका सरकारले जिम्मेवारी लिन जरुरी छ ।’

यता मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु आवश्यक रहेको बताउँछन् । यसका लागि प्रक्रिया पनि अगाडि बढ्दै गरेको उनको भनाइ छ ।

कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० मा सकेट बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको थियो भने तीन बालबालिका घाइते भएका थिए ।

घटनामा परि तीन वर्षीया झरना थापा र पाँच वर्षीया सरस्वती रानाको ज्यान गएको थियो । त्यसैगरी आठ वर्षीय कमल थापा, पाँच वर्षीया मुस्कान थापा र तीन वर्षीया दर्शना थापा घाइते भएका थिए । 


Author

थप समाचार
x