कर्णाली

किन कर्णालीमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व शून्य ?

इकागज |
मंसिर १७, २०७९ शनिबार १९:१० बजे

सुर्खेत- यसपालिको निर्वाचनमा कर्णालीबाट प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य भयो । केही साना दलहरूले महिला उम्मेदवारलाई टिकट दिए पनि ठूला दलले महिलालाई टिकट नै दिएनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् । साना दलहरूमा एक मात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (ख)मा मनकली रामजाली, क्षेत्र नं २ को (क)मा बिजुकला राना र दैलेख क्षेत्र नं १ को (ख)बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो ।


उक्त निर्वाचनमा रामजालीले ६३, रानाले तीन सय छ र सिंहले दुई सय दुई मत मात्र ल्याएर पराजित भए ।

गठबन्धनकाे तर्फ माओवादीबाट जुम्लामा प्रतिनिधिसभातर्फ गोमा कुँवरलाई टिकट दिइएको थियो । उनी त्यहाँ पराजित भइन् । त्यसैगरी दैलेखमा राप्रपाले प्रतिनिधिसभातर्फ कुन्ति शाहीलाई उम्मेदवार बनाएको थियो । गठबन्धनको कारण उनी त्यहाँ पराजित हुन पुगिन् ।

प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरूले जितेर आएका छन् । कर्णाली प्रदेशसभामा ४० सदस्य सिटको व्यवस्था छ ।  उक्त सभामा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । चालीस सदस्यीय प्रदेशसभामा विभिन्न दलहरूबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति गर्नुपर्ने हुन्छ । 

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरूले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मीहरूको भनाइ छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधान विरोधी काम भएको टिप्पणी गरे ।

‘संविधानले नै व्यवस्था गरेको महिला प्रतिनिधित्वको कार्यान्वयन हुन सकेन,’ सुवेदी भन्छन्, ‘दलहरूले यसलाई सामान्य रुपमा लिए ।’ पार्टीले जित्ने सम्भावना भएका ठाउँहरूमा महिलालाई उम्मेदवार नबनाएको उनको भनाइ छ ।

‘जित्ने सम्भावना भएको ठाउँमा महिलालाई टिकट नै दिइएन,’ उनी भन्छन्, ‘यसमा महिला स्वयम् पनि टिकटका लागि अग्रसर भएर लाग्न जरुरी देखिन्छ ।’ महिला प्रतिनिधित्वका लागि महिलालाई प्रोत्साहन गर्नुका साथै निर्वाचन आयोगले नै यसमा कडाइ गर्न सकेमा सहभागिता गराउन सकिने सुवेदीको भनाइ छ । 

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरू प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण अहिले देखिएको बताउँछिन् ।

सामान्य रूपमा  महिलाले टिकट पाएता पनि संवैधानिक व्यवस्था बमोजिम न्यायिक बन्न नसकेको उनको भनाइ छ । 

यता नेपाली कांग्रेसकी नेतृ यमुना सापकोटाले ठूला दलहरूले महिलालाई विश्वास नै नगरेको बताउँछिन् । ‘महिलाप्रति नै दलहरूको सोचाइ कमजोर भएकाले टिकट नदिएका हुन्,’ सापकोटा भन्छिन्, ‘सशक्त खालका दलमा रहेका महिलालाई टिकट नै दिइएन जित्न नसकिने सुनिश्चित भएपछि समावेशीका नाममा कमजोर महिलालाई टिकट दिइएको थियो त्यो पनि ठूला दलले आँट गर्न सकेनन् ।’

पार्टीमा योगदान गरेका महिलाको योगदानको कदर हुन नसकेको सापकोटाको गुनासो छ । ‘समावेशीताका नाममा पार्टीले टिकट दिए पनि आफन्तलाई मात्र हेर्ने प्रवृत्ति छ,’ उनी भन्छिन्, ‘पार्टीमा लागेर वर्षाैदेखि काम गरिरहेका महिलालाई भने अन्याय भएको छ ।’


Author

थप समाचार
x