कर्णाली

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तयारी : पुरानालाई बिदाई, नयाँलाई स्वागत

इकागज |
मंसिर १८, २०७९ आइतबार १७:१ बजे

सुर्खेत- कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सुरुवातका लागि कर्णाली प्रदेश सभाको सचिवालयले तयारी थालेको छ । प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेश सभा सचिवालयले तयारीलाई तीव्रता दिन थालेको हो । अहिले प्रदेश सभा मर्मत सम्भार, रंगरोगन र सरसफाइको कामहरूलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

प्रदेश सभा भवन मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको बताउँदै सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । पुराना सांसदलाई बिदाई र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रम समेत तय गरिने बुढाथोकीले बताए । 


उनले पाँच वर्षसम्म भए गरेका कामको विषयमा नयाँ प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको बताए । ‘यसमा पाँच वर्षको अवधिमा कति वटा र कस्ता विधेयकहरू बनेका छन्, विषयगत समितिका कामहरू कस्ता भए, बैठकहरू कति बसे भन्नेलगायतका सूचनाहरू राखिन्छ,’ उनले भने, ‘यसले गर्दा नयाँ आउने माननीयहरूलाई सहज हुन्छ ।’ त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा मर्मतका कामहरू पनि अघि बढेको उनले बताए ।

प्रदेश सभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरूमा रङरोगनका साथै फर्निसिंग र कार्पेटिंगलगायतका काम भइरहेको छ । सचिवालयमा सभामुखसहित दलका नेताहरूले सुविधा उपभोग गर्न पाउने सवारी साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

संसद् बैठक कक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्षलगायतको कुर्सीको व्यवस्थापन गरिएको छ । सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने, बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ । संसद् बैठकका गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद्‍ भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए ।

संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मत सम्भारको काम भइरहेको उनको भनाइ थियो । 


Author

थप समाचार
x