कर्णाली

कर्णालीमा विपद् व्यवस्थापन : समन्वय नहुँदा प्रतिकार्यमा समस्या

इकागज |
मंसिर १९, २०७९ सोमवार २०:२२ बजे

सुर्खेत- कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् ।

विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ । महिला कानुन विकास मञ्चको आयोजना तथा युएनडिपि,युएनओमनलगायतका विकास साझेदारहरूको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको विपद्‍मा लैंगिक सवाल विषयक कार्यक्रमका सहभागीहरूले यस्तो औँल्याएका छन् । 


कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा समस्या भएको उनीहरूको भनाइ छ । गएको असोजको महिना लगातार वर्षाका कारण पहिरो गएको समयमा समयमा हेलिकप्टर नपुग्दा सुत्केरीको ज्यान गएको थियो । 
आन्तरिक मामिला तथा योजना मन्त्रालयका विपद् फोकल पर्सन कृष्ण रोकायले जोखिमयुक्त बस्तीमा सम्भावित विपद्को सामना गर्ने पूर्व तयारीको अभाव रहेको औँल्याए ।

उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय नहुँदा पनि काम गर्न समस्या देखिएको बताए । त्यसैगरी उद्धार राहत सामग्री भण्डारणको व्यवस्था विकेन्द्रित हुनुपर्ने रोकायको भनाइ छ । प्रदेश सरकारले २०७१ सालमा आएको बाढीका कारण विस्थापित एक हजार ४५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले विपद् व्यवस्थापनको काम गर्दा लैंगिक मैत्री भएर जान आवश्यक रहेको बताइन् । जसमा महिला बालबालिकासँगै अपांगता भएका व्यक्तिहरूलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनमा तीन तहका सरकारसँगै साझेदार निकायबीच समन्वय गरी एकीकृत रूपमा कार्यक्रम बनाएमा सहज हुने निरौलाको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदम लामिछानेले कमजोर वर्गहरू नै बढी विपद्को सामना गर्नुपर्ने भएकाले संवेदनशील भएर लाग्नुपर्ने बताए । विपद्‍मा सही सूचना नआउँदा प्रतिकार्यमा समस्या भएको भन्दै सरोकारवाला निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको औँल्याए । विपद्को प्रतिकार्य गर्दा स्वास्थ्य, मनोसामाजिक परामर्श, कानुनी विषयसँगै न्यायको पाटोमा संवेदनशील दिएमा लैंगिक हिंसालाई न्यूनीकरण गर्न सकिने लामिछानेले बताए । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले विपद् व्यवस्थापन गर्दा लैंगिक संवेदनशीलतालाई ध्यान दिन जरुरी रहेको औँल्याए । उनले नगरपालिकाले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि लैंगिक मैत्री दृष्टिकोणबाट नीतिहरू निर्माण गरिएको बताए । 

युएनडिपिका डिल्ली उपाध्यायले विपद् व्यवस्थापनका लागि सहरी विपद् उत्थानशीललगायतका अन्य परियोजनाहरू सञ्चालन गरिएको बताए । उक्त परियोजनामार्फत विपद्का व्यवस्थापनसँगै प्रतिकार्यका कामहरू अघि बढाइएको जानकारी दिए । 


Author

थप समाचार
x