कर्णाली

कर्णालीवासीको गुनासो सम्बोधन गरिनुपर्छ

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १९:५७ बजे

सुर्खेत- कर्णालीवासीहरूको गुनासो समयमै सम्बोधन गरिनुपर्ने सरोकारवालाहरूले जनाएका छन् । उनीहरूका समस्या तथा गुनासालाई सम्बोधन गरे कर्णाली सरकारको जवाफदेहीता वृद्धि हुने उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धकाे दिवसको अवसरमा युएनडीपीको सहयोगमा प्रदेश सुशासन सञ्जालले आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक ललितजंग शाहीले कर्णाली सरकारले सञ्चालन गरेको 'हाम्रा कुरा हाम्रा मुख्यमन्त्री' कार्यक्रममा कर्णालीवासीका गुनासाहरू समयमै सम्बोधन हुनुपर्ने बताए । उक्त कार्यक्रममा राखिएका गुनासाको सम्बोधन भएपछि त्यस विषयमा नागरिकलाई पनि जानकारी गराउन आवश्यक रहेको उनको भनाइ थियो ।


सुशासन प्रवर्द्धन गर्नका लागि सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो बनाइनुपर्ने शाहीले बताए । 

विश्वविद्यालयमा उपप्रध्यापक त्रिभुवन विसीले सरकार र गैससमार्फत गरिएको लगानीलाई प्रतिफल बनाउन बढी पर्यत्न गर्नुपर्ने जरुरी रहेको बताए । उनले कर्णालीवासीका गुनासालाई सम्बोधन गर्ने कार्यक्रम 'हाम्रा कुरा हाम्रा मुख्यमन्त्री' कार्यक्रमको विषयमा नागरिकहरूलाई बढी जानकारी गराउन आवश्यक रहेको औंल्याए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका उपसचिव भेषराज रिजालले अख्तियारमा आउने उजुरीका संख्या बढेको बताए । उनले अख्तियारमा आएका उजुरीमध्ये गएको आर्थिक वर्षमा १२ वटा उजुरीहरू विशेष अदालतमा दर्ता भएकोमा चालू आर्थिक वर्षमा २१ वटा उजुरी दर्ता भएको जानकारी दिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले सुशासन प्रवर्द्धनका लागि नीतिगत तहमा देखिएको ग्यापलाई व्यवस्थापन गरिनुपर्ने बताए । उनले कानुनको कार्यान्वयनका लागि सबै पक्षबाट दबाब दिनुपर्नेमा जोड दिए । 

युएनडीपीका नविना बज्राचार्यले भ्रष्टाचारका कारण नागरिकको दैनिक जिविका चलाउनै समस्या भएकाले यसको न्यूनीकरण गर्न आवश्यक रहेको बताइन् । नागरिक अगुवा पिताम्बर ढकालले भ्रष्टाचार न्यूनीकरणका लागि माथिल्लो निकायबाट सुधार गर्न जरुरी रहेको औंल्याए । 


Author

थप समाचार
x