कर्णाली

कर्णालीका महिला सांसदहरुकाे याेजना के छ ?

लक्ष्मी भण्डारी |
पुस २०, २०७९ बुधवार १९:३६ बजे

सुर्खेत । कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्तोषी शाहीले प्रतिनिधित्व गरेकी छन् । प्रदेशसभामा पहिलो अनुभव रहेको शाही समानुपातिक सांसद हुन् । आफ्नो दलका राजनीतिक एजेन्डालाई स्थापित गर्ने गरी प्रदेशसभामा सशक्त भूमिका निर्वाह गर्ने उनले बताइन् ।

पार्टीले निर्वाचनका बेला उठाएका एजेन्डाका पक्षमा संसदमा आवाज उठाउने उनको योजना छ । ‘हाम्रो पार्टीका एजेन्डा र जनतासँग चुनावताका गरेका प्रतिबद्धता पूरा गर्ने प्रयास रहनेछ,’ शाही भन्छिन्, ‘यसको लागि म सक्रिय भएर लाग्नेछु ।’ उनी कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारीको मुद्दालाई बुलन्द रुपमा उठाउने बताउँछिन् । कर्णालीको विकास र समृद्धिलाई प्राथमिकता दिने उनको भनाइ छ । कर्णालीमा महिलाका सवाललाई संसदमा उठान गर्ने उनको भनाई छ ।


कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने अर्की सांसद हुन् जानकी सिंह । उनी समानुपातिकतर्फ नेपाली काँग्रेसबाट प्रदेशसभामा प्रतिनिनिधित्व गरेकी छन् । उनको पनि संसदमा पहिलो अनुभव हो ।  सदनमा जनजीविकाका सवाल, महिलाका मुद्दा, लैङ्गिक विभेद र कुप्रथाजस्ता कुरितीको अन्त्यका लागि काम गर्ने उनी बताउँछिन् । विकासनिर्माणसँगै कर्णालीमा व्याप्त कुरीति अन्त्यको लागि आफू संसदमा प्रतिनिधित्व गरेको सिंह बताउँछिन् । ‘कर्णालीमा संस्कारका नाममा कुरितीहरु व्याप्त छन्’ उनी भन्छिन्, ‘यसलाई न्यूनीकरण गर्नका लागि हामी यस्ता सवालहरु उठान गर्नेछौ ।’ नागरिकका आवश्यकतालाई मध्यनजर गरेर काम गर्न जरुरी रहेको उनी बताउँछिन् । ‘जनताका अपेक्षाअनुसार काम गर्नेछु, कर्णालीको विकास भन्नाले बाटो मात्र होइन आर्थिक विकास हुन जरुरी छ ।’ उनी भन्छिन्,  ‘हिंसारहित प्रदेश बनाउन जरुरी छ । यसको लागि हामी संसदमा प्रवेश गरेका छौ ।’ 

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदहरु सबैको भनाइ एउटै छ महिला माथि हुने हिंसा र विभेद हटाउने गरी आफूहरुले सशक्त भूमिका निर्वाह गर्ने । त्यसैगरी महिला तथा बालिकामाथि हुने हिंसालाई न्यूनीकरण गर्नका लागि पहल गर्ने । संसदमा महिलाका मुद्दालाई सक्रियतापूर्वक उठान गर्ने उनीहरुको प्रतिवद्धता छ । संसदमा कानुन निर्माणसँगै महिलाका आवाजहरुलाई पनि राख्ने उनीहरुको भनाइ छ । 

कालिकोटबाट प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गरेकी यसोदा न्यौपानेले शिक्षा र स्वास्थ्यमा महिलाहरुको पहुँच पुग्न नसकेको भन्दै सदनमा नीति निर्माण गर्ने क्रममा महिलाका एजेण्डालाई शसक्त रुपमा उठान गर्ने प्रतिबद्धता जनाएकी छन् । सदनमा महिलाका सवाल, सामाजिक विषय र महिलाका मुद्धामा एकजुट भएर अगाडि बढ्ने उनले बताइन् ।

विगतदेखि महिलामाथि भइरहेको सामाजिक, आर्थिक, साँस्कृतिक र राजनैतिक विभेद हुँदै आएको छ । यसको अन्त्यका लागि सबै एकजुट भएर काम गर्ने उनीहरुको भनाइ छ ।कर्णाली प्रदेशसभाका ४० सांसदमध्ये १५ जना महिला सांसद छन् । संसदमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा स्वतन्त्रबाट एक÷एक जना सांसद छन् ।
 


Author

थप समाचार
x