कर्णाली

निमित्त प्रशासकीय र लेखापालले हुम्लामा पाइलै नटेकी सुर्खेत बसेर खाए पाँच महिनाको तलब

इकागज |
पुस २५, २०७९ सोमबार ६:४३ बजे

सुर्खेत - पाँच महिनासम्म गाउँपालिकामा पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेत बसेर पाँच महिनाको तलब भत्ता खाएका छन् । 

शाही र थापा गत साउन ३१ पछि गत बिहीबार मात्र कार्यालय उपस्थित भएका थिए । कार्यालय नआई तलब–भत्ता बुझेका द्वय झन्डै पाँच महिनापछि हाजिर लगाउन पुगेका थिए । तर,गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षले हाजिरी लगाउन नदिएको बताएका छन् ।  उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए ।


साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए । साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउदै सुर्खेत स्थित अक्तियारमा उजुरी समेत दिएका छन् । पालिका नै  अपहरण परेको भन्दै उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए । तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद चुलिएको छ ।

गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। 
 


Author

थप समाचार
x