कर्णाली

कर्णालीकाे मुख्यमन्त्रीमा एमाले र माओवादीबीच आलोपालो

सात वर्षपछि एमालेका कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुँदै

लक्ष्मी भण्डारी |
पुस २७, २०७९ बुधवार १६:३७ बजे

सुर्खेत । प्रदेश प्रमुख सामू मुख्यमन्त्रीमा दाबी पेश गर्ने अन्तिम समय मात्र बाँकी रहेको समयमा नेकपा माओवादी र नेकपा एमालेबीच कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

कर्णालीमा सुरुमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः यो सहमतिसँगै झण्डै सात वर्षपछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको छ ।


सहमतिसँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा गएर माओवादी संसदीय दलका नेता शर्माले दावी पेस गरेका छन् । प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेअनुसार शर्माले दाबी पेस गरेका हुन् ।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन न्यूनतम २० सिट चाहिन्छ । जसमा माओवादीको १३ र एमालेको १० सिट हुँदा पनि सरकार बन्छ भने राप्रपाको एक सिट सहित २४ सिट हुन्छ । हिजो दिउँसो एमालेको संसदीय दलको बैठकले सरकारमा जाने नजाने विषयको निर्णय गर्ने जिम्मा संसदीय दलका नेता यामलाल कँडेललाई दिइएको छ ।

उक्त बैठकपछि एमाले र माओवादीका दलका नेताबीच छलफल भएपनि ठोस निर्णय भने हुन सकेको छैन । केन्द्रमा भएको शीर्ष दलबीचको निर्णयअनुसार कर्णालीमा माओवादीको भागमा पाँच वर्ष मुख्यमन्त्री पद पाउने भएतापनि प्रदेशमा एमालेले आलोपालो मुख्यमन्त्री चलाउनुपर्ने माग गरिरहेको थियो ।


Author

थप समाचार
x