कर्णाली

छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन

इकागज |
माघ १६, २०७९ सोमवार २१:५० बजे

सुर्खेत- जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ । 

पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन् । प्रेरा खड्का कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ । 


तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने बिरामी तथा सेवाग्राहीलाई सेवा लिन समस्या भएको नलगाड नगर उपप्रमुख सरिता सिंहले गुनासो गरिन् । ठेक्काका कामहरू लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्या हुँदै आएको छ ।

ठेक्का लिएको काम समयमा नगर्दा समस्या भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतका लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ । 

दुई वर्षअघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ । संरचना निर्माण गर्ने समयमा पनि निर्माणको काम सुरु नहुँदा सबै भन्दा विडम्बना रहेको रहेको सरोकारवाला निकायले बताएका छन् । नगरपालिकाबाट पटक-पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्या हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन् । संघीय सरकारबाट प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।

नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्काकाे नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समेत सात वर्षसम्म पनि निर्माण नगरेका हुन् । खारास्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो । पटक-पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दाबी रहेको छ ।

पुल निर्माणको काम लामो समयदेखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरू अलत्रपत्र भएका छन् । अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ । न्युज कारखाना


Author

थप समाचार
x