कर्णाली

म जुहारी खेल्ने पक्षमा छैन : मुख्यमन्त्री शर्मा

इकागज |
माघ २१, २०७९ शनिबार १७:५ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिका लागि एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।

तीन तहका सरकारका एकल अधिकार र साझा अधिकारसहित जनतासँग सहकार्य गर्न जरुरी रहेको शर्माको भनाइ छ । कर्णाली प्रदेशसभाका पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।


‘तथ्य एउटै हुन्छ, तथ्यलाई बङ्गाएर तर्क गर्दा समाज अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘त्यसकारण म धेरै जुहारी खेल्ने पक्षमा छैन । जनताले हामीलाई काम गर्न पठाएका छन् ।’

उनले कुराभन्दा काम अगाडि बढाउन जरुरी रहेको औंल्याएका छन् । ‘परम्पराको पुच्छर समाएर दौडिने पक्षमा छैन,’ उनी भन्छन्, ‘आज जनताको आवश्यकता के हो यस कुरालाई आत्मसाथ गर्न जरुरी छ ।’

संविधानको स्पिड राम्रोसँग अगाडि बढाउन नसकिएको अवस्था रहेको शर्माको भनाइ छ । उनले सबैलाई कर्णाली समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन् ।

साथै मुख्यमन्त्री शर्माले संघीयता राम्रोसँग लागू नभएको तर्क राखे । अझ प्रशासनिक संघीयताको स्थिति जर्जर देखिएको समेत उनको जिकिर छ । समाजवाद उन्मुखतर्फ छलफलहरू केन्द्रित हुन जरुरी रहेको उनले बताए ।  ‘आजका आवाश्यकतालाई बोध गर्ने कुरा र समस्यालाई समाधान गर्न केन्द्रिकृत भएर अघि बढ्नुपर्छ,’ उनले भने,‘ म जनताको काममै समप्रित छु ।’


 


Author

थप समाचार
x