कर्णाली

जाजरकोट प्रहरीको प्रश्‍न : तपाईंले सेवा कस्तो पाउनुभयो ?

इकागज |
माघ २७, २०७९ शुक्रबार २०:४८ बजे

सुर्खेत- जाजरकोट जुनिचाँदे गाउँपालिका–४ का पदम खड्का जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि पुगे । खड्कालाई सहायता कक्षमा बसेका प्रहरीले कसलाई भेट्ने भन्दै जिज्ञासा सुनाए ।

खड्काले डिएसपी सरलाई भेट्न भनेर जवाफ फर्काए । उनलाई एक नम्बरको अनुमतिपत्र दिएर कार्यालयभित्र पठाइयो । कार्यालयमा प्रहरी प्रमुख डिएसपी सन्तोष निरौला सेवाग्रहीसँग छलफल गर्दै थिए ।


खड्काले डीएसपीलाई नमस्कार गरे, डिएसपीले पनि नमस्कार फर्काए । 'हजुरको केही काम थियो किरु भन्दै प्रहरी प्रमुखले जिज्ञासा सोध्नुभयो,' खड्काले भने । खड्काले आफ्नो कामको बेली विस्तार सबै सुनाएपछि तत्काल कामको लागि विभिन्न संयन्त्र परिचालन गरियो ।

खड्का प्रहरी कार्यालयबाट अनुमतिपत्र बोकेर बाहिरिन लाग्दा सहायता कक्षमा बसेका प्रहरीलाई सो अनुमतिपत्र फिर्ता गरेको बताए । पत्र फिर्ता गर्दा तपाईंले यहाँको सेवा कस्तो पाउनुभयो ? भन्दै लेखिएको रजिस्ट्रारमा आफ्नो नामसहित अप्सनमा चिह्र लगाउन अनुरोध गरियो ।

खड्काले पनि आफूले पाएको सेवाका बारेमा सही कुरा लेखेर बाहिरिएको बताए । लेख्न सक्नेले सेवा प्रवाहका विषयमा आफैँ लेख्ने, लेख्न नसक्नेले सहयोगीमार्फत प्रतिक्रिया दिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दैनिक कति जनाले जिल्ला प्रहरी कार्यालयबाट सेवा लिए भन्ने कुराको तथ्यांकसमेत अभिलेखीकरण हुने गरेको छ । दैनिक कस्ता, कस्ता गुनासा आए भन्ने कुराको समेत सूचीबद्ध हुने गरेको छ । सेवा प्रवाह चित्तबुझ्दो नभएको भनी उक्त अभिलेखिकरणमा समेटिएमा तत्काल रजिस्ट्ररमा रहेको फोन नम्बरबाट फोन गरेर समस्या हल गर्ने व्यवस्थासमेत मिलाएको छ ।

सन्देशमूलक पत्रसहित कुन कति गुनासा समेटिए

असोज, कात्तिक महिना जिल्ला प्रहरी कार्यालयले जिल्लामा सात पालिकाबाट विभिन्न सल्लाह सुझाव तथा गुनासाहरू सुन्नका लागि घर घरमा प्रहरी पठाएर सुझाव संकलन गरेको थियो ।

प्रहरीले घरेलु ,लैङ्गिक हिंसा भएमा कहाँ र कसरी उजुरी दिने र कस्ता खालका समस्यालाई हिंसा भनिन्छ भन्ने कुरा उल्लेख गरिएको पत्र उपलब्ध गराउँदै तपाईंको परिवारमा भएको समस्या सबै जानकारी गराएकोमा धन्यवाद दिँदै सुझाव संकलन गरिएको थियो ।

जिल्लाका सातवटा पालिकाका सबै घरमा पुगेर प्रहरीले फोन नम्बर, परिवार संख्या र घरमा भएको समस्याका विषयमा समेत सोधेर लिखित जानकारी संकलन गरेर कामलाई प्रभावकारी बनाएको छ ।

प्रहरीले तत्काल केही समस्या नभए पनि पछि भइपरी आउने समस्याहरू समेत जानकारी गराउनका लागि फोन नम्बर छोड्दै फोन गर्न आग्रह गर्दै आएको छ । घर ,घरमा हुने घरेलु ,लैङ्गिक  हिंसाका विषयमा सचेतना जगाउँदै प्रहरीले समस्याको वर्गीकरण गरिएको जाजरकोट प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए ।

चुनावको समयमा समेत सबै घरमा नेता नपुग्ने अवस्थामा प्रहरीको उपस्थिति सबै घरमा हुँदा जनताले प्रहरी नै भरपर्दो सहयोगी भएको महसुस गर्न थालेका छन् । जनयुद्धको समयमा प्रहरी, प्रशासन भन्नेबित्तिकै सर्वसाधारणको बुझाइ फरक हुने गर्थ्यो ।

शान्ति कालमा आएसँगै केही परिवर्तन भए पनि आफूसँग भएको समस्याका विषयमा प्रहरी चौकीमा नै जानुपर्छ भन्ने बुझाइका कारण खास समस्या प्रहरीसामु पुग्न नसकेकोले घर घरमा पुगेर प्रहरीले गुनासो लिखित रूपमा टिपेर लिएपछि राज्य भएको महसुस भएको नलगाड नगरपालिका –८ का हरिबहादुर खत्रीले बताए ।

प्रहरीले सबै गुनासो, फोन नम्बर र समस्या टिपेपछि त्यसको वर्गीकरण गरेर पालिका , वडा र प्रहरी मध्य कसको भागमा उक्त समस्य पर्छ, उसैले समाधान खोज्नका लागि पहल सुरु गरिएको डिएसपी निरौलाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयबाहेक अन्य प्रहरी चौकीमा स्थायी फोन नम्बर नभएकोले सबै युनिटमा स्थायी फोन नम्बरसमेत उपलब्ध गराएको उनले बताए । पालिकाको सहयोगमा उक्त काम भइरहेको छ ।

अधिकांश समस्याहरूमा सरोकारवाला निकायको पहुँच नहुनु र सामाजिक बन्धनका कारण सबै कुरा खुल्न नसक्ने भएकाले यो अभियान सञ्चालन गर्नुपरेको नलगाड नगरपालिकाका पूर्व नगरप्रमुख टेकबहादुर रावलले बताए । ७७ जिल्लामध्ये जाजरकोटमा पहिलोपटक यो अभियान सञ्चालन भएको थियो ।

समस्यालाई नजिकबाट बुझ्न र समाधान निकाल्नका लागि यो अभियान सञ्चालन गरिएको हो । पहुँचवालाले मात्र सबै काम गर्न र न्याय पाउँछन् भन्ने बुझाइलाई गलत सावित गर्न यो अभियानले थप टेवा पुग्नेछ । जिल्ला भरीका सर्वसाधारणहरूको अवस्था, पीडा र गुनासोहरू एकैपटक केन्द्रित गरेर समाधानका उपाय र विधिसमेत खोजी गरिने सरोकारवालाको भनाइ छ ।

७ सयवटा सुझावहरू संकलन भएका छन् । सुझावमा अधिकांश सडक, खानेपानी, विद्युतका गुनासा बढी आएका छन् । त्यस्तै दुर्घटना हुँदा वा अन्य समयमा प्रहरी घटनास्थलमा छिटो आउनुपर्ने भन्दै प्रहरीलाई सुझाव दिइएको छ ।

सुरुमा प्रहरी जाँदा झस्किएको बताउने स्थानीयहरू सही ज्ञान दिन आएको थाहा पाएपछि आफूहरू खुसी भएको समेत सुझावमा उल्लेख गरिएको छ ।

 त्यस्तै, स्थानीय तहसँगको सहकार्यमा जिल्लाका सबै पालिकाका मुकाममा सिसिटिभी क्यामेरासमेत जडान गरिएको छ । सुरक्षालाई भरपर्दो बनाउनका लागि यो कदम चालिएको हो । सिसिटिभी क्यामेराले काम गर्न सजिलो भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । हेमन्त केसी/न्युज कारखाना


Author

थप समाचार
x