कर्णाली

सुर्खेतका चार स्थानीय तहमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

लक्ष्मी भण्डारी |
बैशाख २४, २०७८ शुक्रबार १५:९ बजे

सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्थापना गरिएको आइसोलेसन सेन्टरको अनुगमन गर्दै नगर प्रमुख हस्त पुन

सुर्खेत : सुर्खेतका चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरेका छन् । कोभिड–१९ संक्रमण भयावह स्थितमा पुगेपछि स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन सेन्टरको स्थापना गरेका हुन् । जिल्लाका वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेका हुन् । 

वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्यचौकी रहेको भवनमा २५ बेडको आइसोलेसन सेन्टरको स्थापना गरेको छ । नगरपालिकाका मेयर देवकुमार सुवेदी र उपप्रमुख मोहनमाया ढकालले आइसोलेसन सेन्टरको स्थापना गरेका हुन् । 


पूर्वीसुर्खेतको गुर्भाकोट नगरपालिकाले निर्माण गरेको सिटी हललाई २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेको छ भने पश्चिम चौकुने गाउँपालिकाले ज्योति माध्यमिक विद्यालयमा १२ बेडको सेन्टरको स्थापना गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र बनेपछि उपचारमा सहज होस् भनेर अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । अहिले २५ वेडको आइशोलेशन सेन्टर आवश्यक परेमा ५० बेडमा पुर्या‍उने उनको भनाइ थियो । 

गुर्भाकोट नगरपालिकाले पनि २५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरिएको र आवश्यकता अनुसार २० वटा वेड थपिनेगरी काम अघि बढाएको उपप्रमुख मैना बिकले जानकारी दिइन् । नगरबासीले अक्सिजन बिना मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले आइसोलेसन कक्ष स्थापना गरेको उपप्रमुख बिकको भनाइ थियो । त्यसैगरी सिम्ता गाउँपालिकामा पनि ५० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले जानकारी दिए । त्यसैगरी यी स्थानीय तहहरूमा भारतबाट फर्किएका नागरिकलाई निगरानी बढाएको जनाएका छन् ।


Author

थप समाचार
x