कर्णाली

एक बोतल पानीको भरमा स्वास्थ्यकर्मी

लक्ष्मी भण्डारी |
बैशाख २४, २०७८ शुक्रबार १५:३२ बजे

सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाउँस्थित कोभिड अस्पतालको आइसोलेसनमा कार्यरत सपना पहाडी दिनभरी एक बोतल पानीको भरमा बिरामी हेर्छिन् । उनी दिन रात नभनि संक्रमितको सेवामा खटिएकी छिन् । ‘हामी दिनभर एक बोतल पानीकै भरमा बस्नुपर्ने अवस्था छ’ कोभिड अस्पतालको इन्चार्जसमेत रहेकी सपना भन्छिन्, ‘अस्पतालमा बिरामीको अवस्था हेर्दा भोक लागेको पनि थाहै हुदैन ।’ 

यसरी बिरामीको सेवामा खटिरहेकै बेला दिनहुँ अस्पतालबाट निस्किने शवले उनको मन आतिन्छ । ‘आफ्नै आँखा अगाडि पाँच मिनेटदेखि एक घण्टाको अन्तरालमा नौ जनाको लास बाहिर निकाल्दा त दिमागले पनि काम गर्न सकेनँ’ उनी भन्छिन्, ‘सबैको यस्तो विकराल अवस्था देख्दा आफ्नो विषयमा केही थाहै नहुने रहेछ ।’ सबैभन्दा बढी अक्सिजनको अभाव भएको बेलामा समस्या  हुने गरेको उनले सुनाइन् । 


‘भित्र बेडमा बिरामी छटपटाएर मर्न लागेको हुन्छ त्यो बेला उसलाई कसरी बचाउने भन्ने मात्र ध्यान हुन्छ । यस्तो अवस्थामा आफूलाई के भइराछ याद आउँदैन’  उनी भन्छिन्, ‘हामीले जति प्रयास गरे पनि बिरामी नबाँच्दा त सहनै नसक्ने पीडा हुन्छ ।’

उनलाई न त दिनको याद छ न त रातको नै । छ त केवल बेडमा रहेका बिरामीलाइ कसरी बचाउने भन्ने चिन्ता । ‘अक्सिजन अभाव भएपछि त रातभरी सुत्नै पाइदैन’ उनी भन्छिन्,  ‘अक्सिजनको कमी भएपछि कुरुवाहरू बाहिर आएर आन्दोलन गर्न सुरुगर्नुह्न्छ । हामीमाथि नै आक्रामण गर्ने जस्तो व्यवहार हुन्छ ।’ 
सपनालाई दैनिक ५० देखि ६० जना बिरामी हेर्नुपर्छ । कतिलाई फोनबाट परामर्श गर्नुपर्छ । ‘आजभोलि अब के गर्ने भन्ने योजना दिमागमा आउन छोड्यो’ सपना भन्छिन्,  ‘पहिलो चरणमा यस्तो अवस्था थिएन । हामीले सोचेभन्दा चारगुणा बढी छ अहिले ।’

यतिसम्म व्यस्त कि सपनालाई कतिपय अवस्थामा घरबाट आएको फोन पनि रिसिभ गर्न समय नै हुँदैन । ‘कहिलेकाँही त घरबाट बुवाआमाले फोन गर्नुहुन्छ । काम गर्न नसकिए छोड भन्नुहुन्छ’ उनले भनिन्,  ‘तर, मैले यस्तो संकटको अवस्थामा किन सेवा गर्न छोड्नु भनेर आमाबुवालाई नै केही हुँदैन सुरक्षित छु भनेर सम्झाउँछु ।’ 

गत वर्षसंक्रमण सुरु भएसँगै सपना सुर्खेत आउने नाका बबैमा सञ्चालित हेल्थ डेक्सका खटिएकी थिइन् । उतिबेला नाकामा बसेर सबैको स्वास्थ्य चेकजाँच गर्नु चुनौतिपूर्ण थियो । दुई–तीन छाकसम्म भोकभोकै बसेर पनि हामीले आफ्नो ड्युटी पूरा गर्नुपरेको उनले सुनाइन् ।  ‘त्यहाका होटलमा कोरोनाको डरले होला हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीलाई खाना दिँदैनौं भन्थे । अनि भोकै सुत्नुपरेको थियो’ सपना भन्छिन, ‘कति रातहरू नसुतेरै उज्यालो भएका थिए ।’

सपनासहित १५ जनाको आइसोलेसन टोली अस्पतालमा कोभिडको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योलमा छन् । सीमा नाकाबाट जागिर सुरुवात गरेका सपनाको टीम अहिले कर्णालीको कोरोना विशेष अस्पतालको नेतृत्व गरिरहेको छ । सोही टिममा रहेकी अनमी गीताञ्जली राना पनि आइसोलेसनमा खटिएकी छिन् । उनी पनि दिनरात नभनि बिरामीको सेवामा तल्लिन छिन् । दिनभर एक बोत्तल पानीकै भरमा काम गर्न बाध्य हुनुपरेको उनले सुनाइन् ।

संक्रमित र उनीहरूको आफन्तको हरिबिजोग देख्दा खाना खानै मन नलाग्ने उनको भनाइ छ । ‘पहिलो कुरा  संक्रमितको चाप बढ्दै गएकाले फुर्सदै हुँदैन’ उनी भन्छिन्, ‘आफ्नै आँखा अगाडि यस्तो अवस्था देखेपछि खाना खानै मन लाग्दैन ।’

ध्यान जति संक्रमितलाई बचाउनेतिर जाने हुनाले आफ्नो बारेमा सोचाइ नै नआउने गरेको उनले बताइन् ।  ‘निद्रा र भोकको कुनै टुंगो नै छैन’ उनी भन्छिन्, ‘घरमा बुवाआमाले चिन्ता लिनुहुन्छ उहाँहरूलाई सम्झाएर काममा बसेको छु ।’

सपना र गीताञ्जलीजस्ता प्राय कर्मचारीको अवस्था उस्तै छ । उनीहरू दिनरात नभनि संक्रमितको उपचारमा खटिएका छन् । दिनहुँ संक्रमित थपिदै जाँदा उनीहरूलाई थेग्नै मुस्किल परेको छ । 

जोखिम भक्तासमेत पाइएन
राज्यले फ्रन्टलाइनरलाई जोखिम भत्ताको व्यवस्था गरेको छ । तर, यस्तो माहामारीको अवस्थामा कोरोना अस्पतालमा कार्यरत करार कर्मचारीहरूले साउनयता जोखिमभत्ता पनि पाएका छैनन् । ‘हामीले बोल्नु भन्दा पनि राज्यले आफै सोच्नुपर्ने हो,’ अनमी गिताञ्जली रानाले भनिन्, ‘न नियुक्तिपत्र, न जोखिम भत्ता, तर, पनि विरामीहरूको सेवामा भने हामीहरू निरन्तर खटिएर काम गरिरहेका छौ ।’

२०७७ चैतमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उनीहरूलाई एक वर्षका लागि करारमा काम गर्ने गरेर नियुक्तिपत्र दिएको थियो । उक्त करार अवधि चैतमै समाप्त भएको छ । अहिले उनीहरूको हातमा नियुक्तिपत्र छैन । मौखिक आश्वासनमा नै काम गर्न बाध्य भएको गिताञ्जलीले बताइन् ।


Author

थप समाचार
x