कर्णाली

संक्रमित थेग्‍न नसकेपछि कर्णालीमा करार स्वास्थ्यकर्मी थपियो

लक्ष्मी भण्डारी |
बैशाख २५, २०७८ शनिबार १६:३१ बजे

सुर्खेत : कर्णालीमा कोभिड–१९का संक्रमित बढेपछि प्रदेश सरकारले एक सय १२ जना नयाँ स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँचौं तहका स्वास्थ्यकर्मी नियुक्ति गरिएको हो । 

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रवीन खड्काले संक्रमित थेग्न नसकिएपछि स्वास्थ्यकर्मी थप गरिएको बताए । खड्काका अनुसार नियुक्त भएका एक सय १२ जना स्वास्थ्यकर्मीमध्ये स्टाफ नर्स ७६, ल्याव टेक्निसियन १२, हेल्थ असिस्टेन्ट १०, रेडियोग्राफर ६, फार्मेसी सहायक ६ र कविराज (आर्युवेदको पाँचौं तह) दुई जना छन् । 


नियुक्त भएका सबैलाई पाँच दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको निर्देशक खड्काले बताए । डा. खड्काका अनुसार नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाइएको छ नियुक्त भएका स्वास्थ्यकर्मीहरू मध्ये सबैभन्दा धेरै प्रदेश अस्पतालमा खटिनेछन् । अन्य जिल्लामा कोरोना संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा प्रदेशका दश वटै जिल्लामा खटाइने निर्देशक डा. खड्काले बताए ।

‘कोरोना भाइरसको महामारीसँगै कर्णालीमा संक्रमितको संख्या तीव्र रूपमा बढेपछि स्वास्थ्यकर्मीको अभाव हुँदै आएको गुनासो बढेको थियो’, निर्देशक खड्काले भने,‘यो सामाजिक विकास  मन्त्रालयले अघिल्लो वर्ष नै विज्ञापन पनि थियो र अहिले बिरामीको चाप थेग्न नसकेपछि करारमा स्वास्थ्यकर्मी नियुक्त गरिएको हो ।’

प्रदेशमा १५ सय जना स्वास्थ्यकर्मीको दरखास्त परेकोले आवश्यकता अनुसार करारमा नियुक्त गर्दै जिल्लामा खटाइने उनले बताए । 


Author

थप समाचार
x