कर्णाली

विकल्पको खोजीमा भेरी–बबई डाइभर्सन आयोजना

लक्ष्मी भण्डारी |
चैत १५, २०७९ बुधबार १७:५३ बजे

सुर्खेत । मुख्य परामर्शदातासँगको सम्झौता रद्द भएपछि सुर्खेतमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाले नयाँ विकल्पको खोजी गर्दै छ । विदेशी परामर्शदाता कम्पनीसँगको सम्झौता रद्द गरेपछि आयोजनाका कामहरु रोकिने देखिएपछि नयाँ सम्झौतामा जानुपर्ने भएको हो । 

झण्डै साढे ३ बर्षपछि इरानी परामर्शदाता कम्पनी र आयोजनाबीच एक महिनाअघि सहकार्य टुंगिएको हो । आयोजनाले इरानको परामर्शदाता कम्पनी ‘महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँगको सम्झौता यही माघ ९ गतेदेखि लाू हुनेगरी रद्द गरेको थियो । २०७६ असोज ६ गते एमजीसीई र भेरी–बबई आयोजना बीच निर्माण सम्झौता भएको थियो । उक्त कम्पनिले आफ्नो दायित्व पूरा नगरेकाले उक्त कम्पनीसँगको सम्झौता रद्द गरिएको भेरीबबई डाईभर्सन बहुृद्देश्यीय आयोजनाका सिनियर डिभिजन ईञ्जिनियर लेखनाथ सुवेदीले बताए ।


‘मुख्य परामर्शदातासँग सम्झौता रद्द गर्नुपरेकोले आयोजनाको समयावधि लम्बिने गरी प्रभाव पर्ने देखिएकाले नयाँ सम्झौता गर्न लागिएको हो’ उनले भने, ‘सानोतिनो कुरामा केही मात्रामा असर त परेकै छ, अझ पनि तत्कालै ‘जीटुजी’ प्रक्रियामार्फत नयाँ सम्झौता नगरेमा आयोजनाको समयावधि लम्बिनेगरि नै असर पर्ने देखिएकाले यसतर्फ अघि बढेका हौ ।’ आयोजनाको निर्माणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले ‘जीटुजी’मार्फत् अघि बढ्न खोजिएको उनले बताए । चैत महिनाभित्र नै प्रक्रियामा जान खोजिएको सुवेदीले बताए । मुख्य परामर्शदाता कम्पनीसँग सम्झौता रद्द भएपनि अहिले नै काममा त्यति ठूलो असर भने नपरेको उनले बताए ।

अमेरिकाको कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले एमजीसीईलाई कालो सूचीमा राखेपछि भेरी–बबई योजनासँग भएको सम्झौता कार्यान्वयन गर्न सकेन । त्यसैले सम्झौता रद्द गर्नुपरेको सुवेदीले बताए । आयोजनासँग सम्झौता हुँदा महब घोड्स कन्सल्टिङ ईन्जिनियरिङले नेपाल बैंकमा खाता खोलेका थियो । उक्त खाता खोल्नका लागि आयोजनाको तर्फबाट पनि निकै प्रयास गरिएको सुवेदीले बताए । आयोजनाको बाँध क्षेत्रमा काम गर्नेगरी गरिएको सम्झौताअनुसार एमजीसीईले नेपालको इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर भेरी बबई आयोजनाको काम गरिरहेको थियो ।

सुवेदीका अनुसार आयोजनाले अहिलेसम्म ५९ प्रतिशत प्रगति हासिल गरेको छ । अहिले भेरी नदीमा बाँध बनाउने, विद्युतगृह निर्माण, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल सम्बन्धी काम भइरहेका छन्।  हाइड्रो मेकानिकलअन्तर्गत गेट र पेनस्टक पाइप निर्माण, इलेक्ट्रोमेकानिकलको टर्बाइन, जेनेरेटर, स्विचयार्ड डिजाइन गर्ने काम पनि भइरहेको छ ।

सुर्खेतको भेरीगंगा–११ चिप्लेस्थित भेरी नदीमा १२० मिटर लामो बाँध बनाएर सुरुङमार्फत् भेरीगंगा–५ को हात्तिखालस्थित बबईमा भेरीको पानी खसाल्नेगरी आयोजना अगाडि बढाइएको थियो । प्रतिसेकेण्ड ४० घनमिटर पानी बबईमा खसालेर त्यसबाट बर्दीया र बाँके जिल्लाका ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने आयोजनाको मुख्य उद्देश्य हो ।

भेरीबबई डाईभर्सन बहुउद्देश्यीय आयोजना टनेल बोरिङ्ग मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ बनाईएको नेपालको पहिलो आयोजना हो । अयोजना निर्माणको पहिलो चरणमा सुरुङ निर्माणको काम गरिएको थियो । यसअघि नै चिनियाँ कम्पनी ‘चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)’ मेसिनको प्रयोगबाट १२ हजार २००  मिटर सुरुङ निर्माण गरिसकेको छ । 

अहिले दोस्रो चरणअन्तर्गत गरिने कार्यमध्येका बाँध र विद्युतगृह निर्माणको लागि चिनियाँ कम्पनी ग्वाङ्डोन, नेपालको रमण निर्माण जेभी र आयोजनाबीच ०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । दोस्रो चरणका सबै कार्य आर्थिक वर्ष ०७९/८० भित्र सम्पन्न गर्ने सम्झौता थियो । तर पछिल्लोपटक ईलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण तथा जडान कार्यका लागि भएको सम्झौता अनुसार आर्थिक वर्ष ०८२/८३ सम्म आयोजनाको समयावधि लम्बिएको छ ।

पछिल्लो अवधिको दायित्व सिर्जना भएपछि गुरुयोजना पनि अद्यावधिक गरिएको आयोजनाका सिडीई सुवेदीले बताए । आयोजनाको दोस्रो चरणका काम सम्पन्न गर्न ११ अर्ब ५२ करोड ६१ लाख बजेट लाग्नेछ । आयोजनाको निर्माण कार्य  आर्थिक वर्ष ०७१/७२ बाट सुरु गरिएको थियो ।


Author

थप समाचार
x