कर्णाली

कर्णालीमा मन्त्रिपरिषद् फेरबदल

लक्ष्मी भण्डारी |
बैशाख २९, २०७८ बुधवार १५:१४ बजे

सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिपरिषद् फेरबदल गरेका छन् । कर्णाली प्रदेशसभाबाट विश्वासको मत पाएको झण्डै एक महिना पुग्न लाग्दा शाहीले मन्त्रिपरिषद् फेरबदल गरेका हुन् ।

मुख्यमन्त्री शाहीले आज नयाँ तीन मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । रुकुमपश्चिमबाट निर्वार्चित सांसद गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित सांसद विन्दमान विष्ट र सीता नेपालीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । तीनै जना माओवादी केन्द्रका सांसद हुन् । 


मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् । आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तिरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजीनामा दिएका छन् । मन्त्रीद्वयले राजीनामा दिए पनि औपचारिक रूपमा जानकारी भने दिइएको छैन । 

मुख्यमन्त्री कार्यालयका अनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

नव नियुक्त मन्त्री विन्दमान विष्टले मन्त्रीमा नियुक्त भएको तर औपचारिक जानकारी  नभएको जानकारी दिए । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने तयारीमा मुख्यमन्त्री कार्यालय जुटेको छ । शाहीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेता पनि माओवादी केन्द्रभित्रको विवादका कारण मन्त्रिपरिषद् पुर्नगठनको काम रोकिएको थियो । फ्लोर क्रस गरेका तीन जना सांसदलाई बैशाख चार गते नै मन्त्रीमा नियुक्त गरिसकेका छन् ।


Author

थप समाचार
x