कर्णाली

लाखौँको भेन्टिलेटर र आइसीयू प्रयोगविहीन

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार ८:१६ बजे

दैलेख : गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुशीको कुरा भएको तर उहाँको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् ।

कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्‍ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ । गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मङ्गलबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो ।


दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए । 'हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन,' उनले भने ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए । प्रतिनिधिसभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताए । रासस


Author

थप समाचार
x