कर्णाली

त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान

इकागज |
जेठ २५, २०८० बिहिवार २१:३७ बजे

फाइल फोटो

रुकुम - रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् । 

श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा अन्य विभिन्न संरचनाको मर्मत तथा निर्माण गरिएको वडाध्यक्ष सुन्दर ओलीले जानकारी दिए । उनका अनुसार श्रमदानबाट वडामा हुने विकास निर्माणको कामलाई पनि सहयोग पुगेको छ । श्रमदानमार्फत सडक, गारेटाबाटा मर्मत हुने भएपछि त्यहाँ खर्च हुने रकमले अन्य काम भएको वडाध्यक्ष ओलीले जानकारी दिए । 


जनप्रतिनिधिले गर्ने श्रमदानमा वडावासीको पनि सहभागिता हुने गरेको छ । विभिन्न समयमा जनप्रतिनिधिले श्रमदान गर्दै गर्दा वडावासी पनि श्रमदान गर्न आउने गरेको वडाध्यक्ष ओलीले बताए । वडावासी र जनप्रतिनिधि गरेर दुई सय १३ दिन श्रमदान भएको छ । जनप्रतिनिधिलाई महिनामा एक दिन श्रमदान गर्नुपर्ने अनिवार्य भए पनि वडाका स्थानीयलाई भने अनिवार्य नरहेको वडा कार्यालयले जनाएको छ । 

एक दिन श्रमदानमा सहभागी नहुने जनप्रतिनिधिले रु छ सय श्रमदान नगरे वापत वडालाई बुझाउनुपर्ने हुन्छ । त्यो रकम पनि सामाजिक काममा खर्च हुने वडाध्यक्ष ओलीले जानकारी दिए । पछिल्ला दिनमा श्रमदान गर्ने परिपाटी हराउँदै गएपछि वडामा श्रमदानको अवधारण ल्याई काम सुरु गरिएको हो ।

श्रमदानप्रति वडावासी पनि सक्रिय देखिन थालेको र अब काम गर्न झनै सहज हुने वडाध्यक्षको भनाइ छ । अबको श्रमदानको काममा वडावासीको उपस्थितिलाई पनि बढाउने वडाको योजना रहेको उनले बताए ।  रासस


Author

थप समाचार
x