कर्णाली

प्रदेश अस्पताल संघ मातहत लैजाने निर्णयप्रति कांग्रेसको विरोध

लक्ष्मी भण्डारी |
जेठ ६, २०७८ बिहीबार १४:३० बजे

सुर्खेत: प्रदेश मातहतमा रहेको कर्णाली प्रदेश अस्पताललाई संघमातहतमा लैजान लागेको भन्दै नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले विरोध जनाएको छ । आज काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले  विज्ञप्ति जारी गर्दै उक्त निर्णयको विरोध गरेका हुन् । 

अस्पताल प्रदेश मातहतमा रहनुपर्ने नेता शाहीको भनाइ छ । यस निर्णयले संघीय सरकार र प्रदेश सरकारबीच दूरी बढाउने काम भएको शाहीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । 


विज्ञप्तिमा अस्पताल प्रदेश सरकारको मातहतमा आइसकेपछि विभिन्न पूर्वाधारहरू निर्माणको साथै जनशक्तिको पनि व्यवस्थापन गरिएको उल्लेख छ । 
 ‘संघीय सरकारबाट २०७५ सालमा तत्कालीन क्षेत्रीय अस्पतालको क्षेत्राधिकार प्रदेश सरकारको स्वामित्वमा हस्तान्तरण भई सकेपछि प्रदेश सरकारबाट यस अस्पतालको संस्थागत विकासका कामहरू भइरहेकै छन्’ विज्ञप्तिमा भनिएको छ, ‘आधारभूत पूर्वाधार संरचनाको निर्माण र संस्थागत क्षमता नयाँ भवन निर्माण, अक्सिजन प्लान्टको स्थापना, विद्युतिकरण, क्यान्सर परीक्षणका लागि मेमोग्राफी मेशिनको जडान, स्पाइनल सर्जरी, न्यूरो सर्जरी जस्ता विशेषज्ञ सेवाहरूको व्यवस्थापनमा सवा अर्ब भन्दा बढी प्रदेश सरकारले लगानी गरेको छ ।’ 

त्यसैगरी आवश्यक जनशक्ति विशेषज्ञ चिकित्सकसहित करिब एक सय जना करार स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी नियमित रूपले सञ्चालनमा ल्याइरहेको अवस्थामा स्वास्थ्य सेवामा असर पर्ने गरी निर्णय भएको विज्ञप्तिमा बताइएको छ । अस्पतालको  व्यवस्थापकीय लगाएत सम्पूर्ण स्वामित्व संघ सरकारले लिने उद्देश्यसहितको निर्णय भएको पत्र एक्कासि सामाजिक सञ्जालमा सार्वजनिक गरेर जनताहरू माझ भ्रम सृजना गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

‘प्रादेशिक संरचनारूको सम्बन्धमा प्रदेश सरकारसंगको सल्लाह, सहमति र सहकार्यविना गरिने निर्णयहरू संघीयताको मर्म र भावनाविपरीत हुने हाम्रो निष्कर्ष रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘कर्णाली प्रादेशिक अस्पतालको सहज रूपले सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यका लागि सहजिकरण एवं अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।’


Author

थप समाचार
x