कर्णाली

कोभिड जित्दैछ कर्णाली

लक्ष्मी भण्डारी |
जेठ १५, २०७८ शनिबार ८:० बजे

कर्णाली प्रदेश अस्पताल  स्थित उपचारमा रहेका संक्रमितहरू ।

सुर्खेत: पछिल्ला दिनहरूमा कर्णालीमा कोभिड–१९ संक्रमणको दर तुलनात्मक रूपमा केही कम भएको देखिएको छ । निषेधाज्ञासँगै संक्रमण नियन्त्रणउन्मुख भएको चिकित्सकहरूले बताएका छन् । प्रदेशमा दोस्रो लहरको संक्रमण फैलिन थालेपछि बैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।  बैशाख मसान्तसम्म संक्रमणदर निकै उच्च देखिए पनि अहिले विस्तारै घट्दै गएको देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ महिनासँगै संक्रमित र मृत्युदर पनि घटेको हो ।

जेठ महिनामा कोरोना संक्रमणदर केही मात्रामा घटे पनि जोखिम भने अझै उस्तै छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ १ गतेदेखि हालसम्म ६ हजार बढीमा संक्रमण पुष्टि भएको छ । जेठ १ गते ६ सय १८ जनामा संक्रमण देखिएकोमा ८ गते चार सय ७९ मा पुग्यो । त्यसैगरी १२ गते दुई सय ९८ मा संक्रमण पुष्टि भएको थियो भने १४ गते शुक्रबार दुई सय ५२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी जेठको पहिलो सातासम्म दैनिक ८ देखि १० जनाको मृत्यु हुने गरेकोमा अहिले दिनमा दुईदेखि तीन जनासम्मको मात्र मृत्यु हुने गरेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।निर्देशनालयका अनुसार जेठ तीन गते एकैदिन १३ जनाको मृत्यु भएको थियो भने सात गते ६ जनाको मृत्यु भएको थियो । जेठ १० गते ४ जनाको मृत्यु भएको थियो भने १४ गते एक जनाको मृत्यु भएको छ । 


प्रदेश अस्पतालस्थित कोरोना अस्पतालको आइसोलसनमा कार्यरत स्वास्थ्यकर्मी सपना पहाडीले आजभोलि संक्रमितको उपचार गर्न सहज भएको बताइन् । संक्रमितको संख्या घट्दो क्रममा गएपछि उपचार गर्न सहज भएको उनले बताइन्  । ‘अहिले संक्रमितको संख्या घट्दै गएपछि अक्सिजनको पनि अभाव देखिएको छैन’ उनी भन्छिन्, ‘अक्सिजन अभाव नभएपछि मृत्युदर पनि कम भएको छ ।’

त्यसैगरी अस्पतालमा कार्यरत डाक्टर नवराज केसीका अनुसार बैशाख महिनाको तुलनामा जेठमा संक्रमितको संख्या घट्दै गइरहेको छ । अस्पतालमा संक्रमितको चाप घटेसँगै स्वास्थ्यकर्मीहरूलाई उपचार गर्न पनि सहज भएको केसीले बताए । हिजोआज अस्पतालमा अक्सिजनको पनि अभाव नदेखिएको उनले बताए ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा उच्च जोखिममा रहेको जिल्ला सुर्खेत हो । यहाँ पनि संक्रमणको दर विस्तारै घट्दोक्रममा देखिएको जनस्वाथ्यकर्मीहरूले बताएका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले वीरेन्द्रनगर लगायतका सहरी क्षेत्रमा संक्रमण घट्ने संकेत देखिए पनि जोखिम भने उस्तै रहेको बताए । निषेधाज्ञाको पूर्णपालना भएका क्षेत्रहरूमा संक्रमण घटेको पाइएको उनले बताए । यसरी स्वास्थ्य निर्देशनालयको तथ्यांकलाई तुलना गर्दा कर्णालीले कोभिडलाई जित्ने क्रममा देखिएको छ ।
 


Author

थप समाचार
x