कर्णाली

कर्णाली सांसदका गाडी, खरिदभन्दा मर्मत खर्च बढी

लक्ष्मी भण्डारी |
मंसिर ८, २०७७ सोमबार १२:६ बजे

सुर्खेत : सत्तारुढ नेकपाका कर्णाली प्रदेश सांसद यामलाल कँडेलले प्रयोग गरेको गाडी मर्मतका लागि आधा करोड बढी खर्च विवरण प्रदेश सभा सचिवालयमा पेश भएको छ । गत जेठ महिनामा गाडी दुर्घटनामा परेपछि त्यसलाई मर्मतको लागि ५८ लाख ६९ हजार रुपियाँ लाग्ने अनुमानित खर्च विवरण सचिवालयमा पेश गरिएको हो ।

भैरहवास्थित देवकोटा चोकमा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीले सचिवालयमा मर्मतका लागि उक्त खर्च विवरण पेश गरेको छ । सांसद कँडेलले चलाउँदै आएको बा २ झ ३९७० नम्बरको स्कारपियो गाडी गत जेठ ६ गते चितवनको दासढुंगा नजिकै दुर्घटना भएपछि मर्मतको लागि भैरहवामा रहेको समृद्धि इन्टरप्राइजेज कम्पनीमा राखिएको थियो । 


२०७५ असारमा ४९ लाख ४९ हजारमा उक्त गाडी खरिद गरिएको सचिवालयका जिन्सी शाखाका नायब सुब्बा सुरेन्द्रबहादुर थापाले जानकारी दिए । खरिद मूल्य भन्दा मर्मत खर्च बढी आएपछि सचिवालयका कर्मचारीहरु आश्चर्यमा परेका छन् । 

सांसद कँडेलले विपक्षी दलका नेताले पाउने सेवा सुविधा पाउँदै आएका थिए । महालेखा परिक्षकको कार्यालयले उक्त सेवा सुविधा बेरुजु देखाएपछि उनले गत साउनदेखि सबै सेवा सुविधा नलिने घोषणा गरेका थिए । सोही सेवा सुविधा बमोजिम सांसद कँडेल गाडी प्रयोग गर्दै आएका थिए । गत जेठमा उक्त गाडी दुर्घटना भएपछि मर्मतको लागि भैरहवाको कम्पनीमा राखिएको छ । सुविधा नलिने घोषणा गरेको चार महिना बितिसक्दा पनि सांसद कँडेलले उक्त गाडी संसद नबुझाएको सचिवालयले जनाएको छ । 

गाडी मर्मत गर्न सचिवालयमा आएको उक्त इस्टिमेट महँगो भएको कर्णाली प्रदेश संसद सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए । उनले यस विषयमा बिमा कम्पनीसँग छलफल गरेपछि मात्र अघि बढ्न सकिने बताए । ‘सचिवालयमा आएको गाडी मर्मत खर्चका विययमा इन्स्युरेन्समा छलफल भएपछि मात्र कसरी अघि बढ्ने थाह हुन्छ’ सचिव बुढाथोकीले भने ‘हामीले कुनै प्रक्रिया अघि बढाएका छैनौ ।’

यता युनाइटेड इन्स्योरेन्स कम्पनीले उक्त गाडी मर्मत गर्न इन्जिनयर पठाएको जनाएको छ ।  कम्पनीका सुर्खेत शाखा प्रमुख धिरेन्द्र शाहले गाडी मर्मतपछि आएको बिलको आधारमा रकम भुक्तानी हुने बताए । ‘यो इस्टिमेट महँगो हो’ उनले भने, ‘कम्पनीमा रहेको गाडी मर्मतपछि मात्र कति लाग्ने भन्ने कुरा थाह हुन्छ ।’ गाडी मर्मतको यो इस्टिमेट अनुसार नयाँ गाडी नै किन्न सकिने उनले बताए ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x