कर्णाली

राउटेका लागि एकीकृत नीति बनाइँदै

लक्ष्मी भण्डारी |
असार ७, २०७८ सोमबार ११:२३ बजे

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरूको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।
 
सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए । एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखिएको मन्त्री बुढा क्षेत्रीले बताए । साउनदेखि नीति अनुसार काम गर्ने तयारी गरेको उनको भनाइ थियो ।  

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु नीतिभित्र समेटिने बताए । 
 
‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ’ उनले भने, ‘पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरूले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरूको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको छ ।’


मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनिकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताए । ‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो’ सचिव काप्रीले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरूसँग छलफल पनि गरिने काप्रिको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी छवी रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शील गरिएपछि धेरै विकृतिहरूको अन्त्य भएको बताए । युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरूका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलवाड भइरहेको बताए ।
गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताइन् ।


Author

थप समाचार
x