कर्णाली

विदेश छाडेर गाउँमै रोजगार

लक्ष्मी भण्डारी |
असार १०, २०७८ बिहीबार १०:५७ बजे

सुर्खेत : गुराँस गाउँपालिकाका नरेन्द्र थापा तीन वर्षयता गाउँमै रोजगार गर्ने अवसर पाएका छन् । थापा गाउँमै सडक खन्‍ने र मर्मतको काम गर्छन् । आर्थिक अभावका कारण भारतमा काम खोज्दै जाने गर्थे । चाड-पर्व र खेतीबालीको सिजनबाहेकका समयमा उनी भारतमा जाने गर्थे । वर्षमा ६ महिनाभन्दा भन्दा बढी समय भारतमै बिताउन बाध्य उनी गाउँमै रोजगारी पाएकामा खुशी छन् । ‘गाउँमा रोजगारी मिलेको छ, यसमा हामी खुशी छौँ’ उनी भन्छन्, ‘आफ्नै ठाउँमा रोजगार मिलेपछि किन जानु अर्काको ठाउँमा ।’

थापा महिनामा २२ दिन काम गर्छन् । दैनिक पाँच सयका दरले मासिक ११ हजार रुपियाँ पाउँछन् । जसले घरखर्च चलाउन सहज भएको छ । त्यतिमात्र होइन, गाउँमै रोजगारी मिलेपछि खेतीपातीको काम समेत गर्न भ्याएका छन् । उनले भैँसी र बाख्राहरू समेत पालेका छन्, यसबाट उनको आम्दानी बढेको छ । उनले भैँसीको दूध र खसी बाख्रा बिक्री गरेर आम्दानी बढाएका छन् । ‘भारत भन्दा त गाउँमै काम गरेको फाइदा हुँदो रहेछ’ थापा भन्छन्, ‘घरको धन्दा पनि गर्न भ्याइएको छ, सबै आफन्तहरूसँगै बसेर काम गर्दा रमाइलो भएको छ ।’


त्यही गाउँका नरबहादुर भण्डारी पनि तीन वर्षयता गाउँ छोड्नु परेको छैन । गाउँमा सुरु भएको सडक निर्माणको काममा लागेपछि विदेश जान छाडेका हुन् । घर छोडेर भारतमा रोजगार गर्दा घरपरिवारलाई नरबहादुरको  र नरबहादुरलाई पनि घरको विषयमा तनाव हुन्थ्यो । तर, आजभोलि गाउँमै रोजगार गर्ने र घरपरिवारसँग बस्‍न पाएकोमा उनले खुशी प्रकट गर्छन् । ‘घर-नजिकै काम मिलेपछि इण्डिया जान छोडको छु’ उनी भन्छिन्, ‘घरबाटै रोजगारी मिलेपछि घरको व्यवसायहरू गर्न पनि सजिलो भएको छ ।’

उनी  हरेक दिन १० बजेदेखि चार बजेसम्म काम गर्छन् । त्यसबाहेकको समय घरको खेतीपाती र अन्य धन्दामा लागेका छन् । नरेन्द्र र नरबहादुर जस्तै गुराँस गाउँपालिकाका अधिकांश स्थानीयहरूलाई विदेश जान छोडेका छन् । उनीहरू गाउँमै हुने खानेपानी, सडकजस्ता विकास निर्माणका काममा संलग्‍न छन् । पालिकाले सडक कार्यदल र सिँचाइ कार्यदल गठन गरेर स्थानीय युवाहरूलाई विकास निर्माणको काममा लगाएपछि स्थानीयहरू विदेश जान छोडेका हुन् ।

गाउँपालिकाले तीन वर्ष अघि गाउँपालिकामा रहेका बेरोजगार भएका युवाहरूको लगत संकलन गरेर कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । लगत संकलन गर्दा दुई हजार आठ सय जना युवाहरू भेटिए उनीहरूमध्ये पनि काम गर्न सक्ने र आर्थिक अवस्था कमजोर भएका मापदण्ड अनुसार काममा लगाइएको छ ।

गुराँस कार्यदल अन्तर्गतको सडक र सिँचाइको काममा एक सय ६० जनाले रोजगारी पाइरहेका छन् । अन्य बाँकीलाई मुख्यमन्त्री रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा राखिएको छ । हरेक वडामा १० भन्दा बढी योजनाहरू सञ्चालन भएको र त्यसमा स्थानीयहरूले नै रोजगारी पाइरहेको अध्यक्ष वलीले बताए । गाउँपालिकाले कार्यक्रम सुरुवात गरेपछि विभिन्‍न स्थानीय तहहरूले र प्रदेश सरकारले समेत यही कामको अनुसरण गरेको अध्यक्ष वली बताउँछन् ।गाउँमै रोजगार मिलेपछि स्थानीयहरूलाई विदेश जाने बाध्यता हटेको गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताइन् । ‘स्थानीय स्तरमै बेरोजगार युवाहरूलाई रोजगार दिनु हाम्रो कार्यक्रमको उद्देश्य हो’ उनी भन्छिन्, ‘यसरी काम गर्दा विकास निर्माण र गाउँमै रोजगारी पनि सिर्जना भएको छ ।’

कार्यदलमार्फत विकास निर्माणका कामहरू गर्दा कम लागतमा निर्माण भएको वडा नम्वर पाँचका वडा अध्यक्ष सुरेन्द्रकुमार महतरा बताउँछन् । ‘यसरी कार्यदलमार्फत नै काम गराएपछि विकास निर्माणका कामहरू गुणस्तर देखिएका छन्’ उनी भन्छन्, ‘ठूला मेसिन लगाउनु भन्दै यसरी स्थानीयमार्फत काम गराउँदा काम प्रभावकारी पनि देखिएको छ ।’

यसरी कार्यदल बनाएर काम गरेपछि विकास निर्माणका काम प्रभावकारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले बताए । उनका अनुसार, यसरी काम गराउँदा स्थानीयलाई गाउँमै रोजगारी मिलेको छ ।


Author

थप समाचार
x