कर्णाली

बाँसबाट घरमै बन्‍छन् यस्ता सामाग्री

लक्ष्मी भण्डारी |
असार १५, २०७८ मंगलबार ८:२५ बजे

सुर्खेत : गुराँस गाउँपालिकामा केही वर्ष अघिसम्म बाँसलाई घाँसको रुपमा प्रयोग गर्थे । कसै-कसैले भने गोठ र घर निर्माणमा मात्र प्रयोग गर्ने गर्थे । बहुउपयोगीको रुपमा रहेको बाँस बारी र काल्नाहरूमा खेर गइरहेको थियो । तर केही समययता गाउँपालिकाका स्थानीय महिलाहरू बाँसको बहुउपयोगितालाई बुझेर विभिन्‍न  आर्कषक सामाग्रीहरू तयार गर्न थालेका छन् ।

गुराँस गाउँपालिकाकी मुना राना आजभोलि फुर्सदको समयमा बाँसबाट बन्‍ने विभिन्‍न सामाग्रीहरू तयार गर्छिन् । ‘हामीलाई बाँसबाट बन्‍ने सामाग्रीको बारेमा थाह नभएर रहेछ’ उनी भन्छिन्, ‘यसबाट त धेरै फाइदा लिन सकिने रहेछ ।’ उनले बाँसका मुडा, ऐना फ्रेम, फोटो फ्रेम, कपडा राख्‍ने हेङ्गर तथा विभिन्‍न घर सजावटका सामाग्रीहरू तयार गर्छिन् । ‘साँझ बिहानको घरको काम सकेर फुर्सदको समयमा बाँसबाट बन्‍ने सामानहरू बनाउँछु’ उनले भनिन्, ‘फुर्सदको समयको सदुपयोग पनि हुने र आम्दानी पनि होला भनेर लागेकी छु ।’ उनले यसरी तयार पारेको सामाग्रीलाई उद्यमको रुपमा विकास गर्ने चाहना छ । भन्छिन्, ‘अहिले घरमै बसेर सामान बनाउँछु भविष्यमा यसलाई उद्योगको रुपमा लिने विचार गरेकी छु । ’


सोही गाउँकै गोपिसरा वली पनि बाँसबाट विभिन्‍न सामाग्रीहरू तयार गर्न थालेकी छन् । उनले घर सजावटका साथै दैनिक उपयोग हुने सामाग्रीहरू तयार गर्दै आएकी छन् । घरको कामसँगै उद्यमको काम भएपछि उनी खुसी छन् ।

गाउँपालिका-६ का नगेन्द्र विसी २०७२ सालको भूकम्पमा परेपछि घाइते भए । उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । ‘भूकम्प गएको बेलामा म काठमाडौँमा बसेर काम गर्ने गर्थे भाग्‍ने बेलामा खुट्टामा चोट लाग्यो र अहिले घाइते भए’ उनी भन्छन्, ‘अहिले घरमै बसेर बाँसबाट बन्‍ने विभिन्‍न सामाग्रीहरू तयार गर्छु ।’ घरमै बसेर काम गर्न पाएपछि उनी खुसी छन् । 

गुराँस गाउँपालिकाले महिला लघुउद्यमी कार्यक्रम सञ्चालन गरेपछि खेर गइरहेको बाँसको सदुपयोग हुनुको साथै महिलाहरू उद्यमी बन्‍न थालेका छन् । गाउँपालिकामा आर्थिक रुपमा विपन्‍न महिला र अपांगता भएका व्यक्तिहरूलाई गत वर्ष बाँसका सामाग्री तयार गर्ने एक महिनाको तालिम सञ्चालन भएपछि विपन्‍न महिला र अपांगता भएका व्यक्तिहरू गाउँमा खेर गइरहेको बाँसको सदुपयोग गरेका छन् ।

लघुउद्यम कार्यक्रमले गाउँमा महिलाहरू आर्थिक रुपमा आत्मनिर्भर भएको उद्यम विकास सहजकर्ता इन्द्रा थापाले बताइन् । यसबाट उनीहरूमा सीपको विकास हुनुको साथै फुर्सदको समयको सदुपयोग पनि भएको थापाको भनाई छ । गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले विपन्‍न महिलालाई स्वारेजगारको विकासका लागि गाउँपालिकामा महिला लघुउद्यम कार्यक्रम सञ्चालन गरेका बताइन् ।

‘यसबाट खेर गइरहेको बाँसको सदुपयोग भएको छ भने उनीहरूको सीपको विकास भएको छ ’ उनले भनिन्, ‘उनीहरूले उत्पादन गरेका सामाग्रीहरूलाई बजारीकरणको लागि कोशेली गृहको स्थापना गर्ने सोच बनाएका छौँ ।’ लघु उद्यम कार्यक्रम अन्तर्गत गाउँपालिकामा बाँसका सामाग्री निर्माणसँगै सिलाईकटाई तालिम, होजियारी, मौरीपालन र हाउस वाइरिङ लगायतका तालिमहरू सञ्चालन गरिएको उपाध्यक्ष विसीले बताइन् । 
 


Author

थप समाचार
x