कर्णाली

कर्णालीका कुन कुन स्थानीय तहले ल्याए बजेट ?

जितेन्द्र थापा |
असार १५, २०७८ मंगलबार १३:४१ बजे

सुर्खेत : कर्णाली प्रदेशका ७९ वटामध्ये ५५ वटा स्थानीय तहले मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भए पनि २४ वटा स्थानीय तहहरूले अझैं नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन् । पलिकाकाका जनप्रतिनिधिहरूबीचको विवाद, योजनामा छनौटमा सहमति जुट्न नसक्नु तथा काभिड महामारीको प्रभावजस्ता कारणले २४ वटा स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेका हुन् । 

बजेट नल्याउने पालिकाहरू
तोकिएको समयमा बजेट ल्याउन नसक्नेमा डोल्पाका छ पालिका छन् । ठूलोभेरी नगरपालिका, डोल्पोबुद्ध गाउँपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । ती मध्ये मुड्केचुला गाउँपालिकामा अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष सविताकुमारी रोकायाबीच चर्को विवाद छ । त्यहाँ माओवादीबाट निर्वाचित अध्यक्ष शाही अल्पमतमा छन् एमालेबाट निर्वाचित उपाध्यक्ष रोकायाको बहुमत छ ।


कार्यकारी अधिकृत जीतबहादुर श्रेष्ठ र अन्य कर्मचारीबीच पनि राजनीतिक विवाद छ । कर्मचारीमा पनि कार्यकारीसहितको टोली एमालेको पक्षमा छ । अध्यक्ष शाहीले करारमा राखेका कर्मचारी मात्रै माओवादीको पक्षमा छन् । यहीकारण त्यहाँ नीति तथा कार्यक्रम र बजेट तयार हुन सकेको छैन ।

नीति तथा कार्यक्रम ल्याउने समय नजिकिँदै गर्दा श्रेष्ठ जिल्ला बाहिर गएका थिए । डोल्पाकै अन्य स्थानीय तहमा पनि विवाद चर्किदै छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र रास्कोट नगरपालिका, हुम्लाको सर्केगाड, चंखेली र नाम्खा गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छैनन् ।

त्यस्तै जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी र हिमा गाउँपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका र छत्रेश्वरी गाउँपालिका, दैलेखका भैरवी, महावु, नौमुले र ठाँटीकाँधले पनि बजेट ल्याएका छैनन् महावु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच विवाद छ ।

नौमुले र ठाँटीकाँधमा एमालेभित्रकै जनप्रतिनिधिबीच विवाद छ । दुबै स्थानीय तहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका जनप्रतिनिधिहरूबीच विवादका कारण बजेट आउन नसकेको हो । भैरवी गाउँपालिकामा भने कोरोना महामारीका कारण बजेट आएको छैन । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढासहित तीन जना वडाध्यक्षहरू कोभिड संक्रमित छन् ।


Author

थप समाचार
x