कोभिड–१९ माहामारीमा पीडितको घरघरै पुग्ने वकिल
सुर्खेत : जेठको पहिलो साता हिंसा पीडत वीरेन्द्रनगरकी निशा सुनार बिरामी भएर थलिएकी थिइन् । घरपरिवार र श्रीमान्बाट अलग भएकी निशा रोग र भोकसँग लडिरहँदा उनको साथमा सानी छोरी मात्र थिइन् । मजदुरी गरेर गुजारा चलाउँदै आएकी निशाले कोभिड महामारीमा काम पाइनन् ।
दैनिक ज्याला मजदुरी गर्न नसेपछि उनी छोरीको साथमा कयौँ रात रोग र भोकसँग लड्दै थिइन् । ‘साँझ बिहान खाने केही थिएन, मजदुरी गरेर किनेको चामल सकिएको थियो’, उनी भन्छिन्,‘आमा छोरी कति रात त भोकै सुत्यौँ, भोकै सुत्दा त निद्रा नै परेन ।’
रोग र भोकसँग लडेकी निशाको साहारा बनेर आइन् अधिवक्ता गीता कोइराला । उनले चामल दाल तरकारी र औषधी लिएर निशाको घरमा आएपछि निशा खुसी भइन् । ‘नहुनेको भगवान हुन्छन् भनेको यही रहेछ’, निशा भन्छिन्,‘यस्तो बिरामी भएर थलिएको अवस्थामा उहाँले मलाई बचाउँनुभयो ।’
यतिमात्र होइन निशाको तर्फबाट गीताले नै निःशुल्क घरेलु हिंसाको मुद्धामा साथ दिएकी छन् । निशाजस्तै पीडित लक्ष्मी शाहीको पनि अवस्था दयनीय थियो । उनको घरमा पनि राहतका सामाग्री लिएर पुगिन् । लकडाउनको समयमा गीताले दिएको राहतका सामाग्रीले उनी लक्ष्मी खुसी भइन् ।
‘मलाई जहाँ अप्ठेरो पर्छ त्यही गीता मेडम आउनुहुन्छ’, लक्ष्मीले भनिन्,‘हाम्रो लागि त उहाँ भगवान बनेर आउनुभएको छ ।’
निशा र लक्ष्मी मात्र होइन अधिकांश पीडित महिलाले गीताको साहारा पाएका छन् । निषेधाज्ञाकै समयमा गीताले ३१ जना पीडित महिलाको घर घरमै पुगेर राहत वितरण गरिन् । माहामारीको समयमा उनी एक दिन पनि घरमा बसिनन् । कोभिड माहामारी र निषेधाज्ञाका कारण पीडित महिलाको अवस्थाले गीताको मनमा छट्पटी छुट्थ्यो ।
‘कोभिडको बेलामा हुने खाने घरमा पो घरभित्रै बसेर खाइरहने होला नहुने परिवारलाई त रोग भन्दा भोकको समस्या बढी थियो’, उनले भनिन्,‘सामान्य परिवारमा पनि यो बेला कठिन थियो भने जो वर्षाैदेखि आँशुमा डुबिरहेका छन् उनीहरुको कस्तो अवस्था होला यस्तो अवस्थामा पीडितसँग पुगेकी हुँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया