परीक्षामा अनियमितता गर्ने उपप्रध्यापक बर्खास्त
सुर्खेत : परीक्षामा अनियमितता गरेको आरोपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका एक उपप्रध्यापक बर्खास्तीमा परेका छन् । मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको हो । आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको भन्दै उनलाई बर्खास्त गरिएको हो ।
परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए ।
उनकाअनुसार विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानविन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध भएको ठहर गर्दै विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्षसहित दोषी भएको पुष्टि गरेको थियो।
‘अक्षम्य शैक्षिक अपराध भएकाले कार्यक्रम निर्देशक तथा स्थायी उपप्राध्यापकबाट बर्खास्त हुने गरी यादवको नाममा सोमवार पत्र काटेर दिइएको उपकुलपति सिंहले जानकारी दिए । ‘हामीले विश्वविद्यालयमा अनियमितताका गतिविधि गर्ने विरुद्धमा अब काम सुरुवात गरेका छौ’ सिंहले भने, ‘विश्वविद्यालयको नियम विपरित काम गर्नेलाई दण्ड र राम्रो काम गर्नेलाई पुरस्कारको व्यवस्था पनि हुन्छ ।’
परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई निर्देशक यादव दोषी देखिएको प्रतिवेदन पेस गरेको थियो । समितिले यादवलाई स्पष्टीकरण पनि सोधेको थियो । स्पष्टीकरणबाट पनि चित्तबुझ्दो जवाफ नआएपछि निर्देशक यादवलाई विश्वविद्यालयले स्थायी उपप्राध्यापक पदबाटै बर्खास्त गरिएको हो ।
मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुसी नम्बर दिएको पाइएको छानबिन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ । परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंहले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया