कर्णाली

प्रतिपक्षीको विरोध

कर्णालीमा जबर्जस्ती बजेटमाथि छलफल चलाउने सभामुखको चेतावनी

आज पनि प्रदेशसभा बैठक बस्दै

इकागज |
असार ३०, २०७८ बुधबार ६:१५ बजे

सुर्खेत : आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महिना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा अझै छलफल शुरु हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असार महिनाभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको लगातारको अवरोधका कारण छलफलसमेत शुरु हुन नसकेको हो । 

प्रदेशसभामा गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आव २०७८÷७९ का लागि रु ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेको थियो । त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन् । प्रदेशसभाको आजको बैठकमा पनि कार्यसूचीमै प्रवेश गर्न पाएन । 


सभामुखले बैठक प्रारम्भ गर्नासाथ एमालेका प्रदेशसभा सदस्य सिटबाट उठेर अवरोध गर्दै आएका छन् । एमालेले सदनमा सर्वोच्च अदालतको आदेश विपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट नहटाएसम्म वैठक अवरुद्ध गरिरहने अडान राखेको छ । 

आजको बैठकमा एमाले प्रदेशसभा सदस्य दानसिंह परियारले सर्वोच्च अदालतको आदेश र सभामुखले सदनमा वाचन गरेको पत्रको कार्यान्वयन गर्न सरकार गम्भीर नहुँदा बजेटजस्तो महत्वपूर्ण विषयमाथि छलफल हुन नसकेको बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । 

पार्टी निर्देशन विपरीत आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री पदमा नियुक्त गरेका थिए ।  

प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । पार्टी निर्देशन उल्लङ्घन गरेको आरोपमा एमालेले पदबाट मुक्त गर्न प्रदेशसभालाई सिफारिसका गरेका आधारमा प्रकाश ज्वालासहित उनीहरु तीन जना पदमुक्त भएका थिए । सर्वोच्च अदालतको जेठ २७ गतेको अन्तरिम आदेशबाट उनीहरुको पुनर्बहाली भएपछि एमाले र सरकारबीच सदनमा टकराव बढेको छ । 

अदालतको आदेशबमोजिम प्रदेशसभाले एमाले संसदीय दलको सदस्यका रूपमा बैठक कक्षमा सिट व्यवस्थापन गरे पनि मन्त्रीहरू भने सत्तापक्षकै कुर्सीमा बस्दै आएका छन् । एमालेले प्रदेश सरकारले एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षी बनाएको भन्दै आपत्ति जनाउँदै आएको छ । 

सभामुख राजबहादुर शाहीले आजको बैठकमा सभा सञ्चालनमा सहयोग नगरे अवरोधकै बीचबाट अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका थिए । मंगलबार दुई वटा बैठक बसेपनि एमालेको अवरोध कायमै रह्यो । एमालेको अवरोध कायमै रहेपछि सभामुखले आज दिउँसो २ बजे बैठक बोलाएका छन् ।


Author

थप समाचार
x