कर्णाली

कर्णालीको राजधानीमै पिउने पानीको हाहाकार

जितेन्द्र थापा |
साउन १, २०७८ शुक्रबार १३:५६ बजे

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पिउने पानीको संकट चुलिएको छ । राजधानीवासीलाई आधा घण्टाको बाटो हिडेर पिउने पानी बोक्नुपर्ने बाध्यता छ । त्यसका लागि पनि घण्टौँ लाइनमा बस्नुपर्छ । अहिले खानेपानीको हाहाकार नै भएको वीरेन्द्रनगर–३ कि कल्पना बिष्‍ट बताउँछिन् । उनका अनुसार यो समस्‍या अहिलेको मात्रै होइन । गर्मीयाम सुरुभएसँगै वर्सेनि यस्तो समस्या उनीहरुले झेल्‍दै आएका छन् । वीरेन्द्रनगर–५ का थमन न्यौपानेको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘गर्मीयाम सुरु भयो कि धारमा पानी आउन छोड्छ । खानेपानीकै लागि घण्टौँ हिड्नुपर्ने बाध्यता छ ।’

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटा पनि मागअनुसार पानी पुर्‍याउन नसकिएको स्वीकार गरे । उनकाअनुसार २ लाख बढी जनसंख्या रहेको विरेन्द्रनगरमा ३६ हजार घरधुरी छन् । दुई लाखलाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७० लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । तर, हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट जम्मा १५३ लिटर प्रतिसेकेण्ड मात्र पानी उपलब्ध भइरहेको छ । पानीको सहज आपूर्तिका लागि आफू लागि परेको उनले दाबी गरे । 


सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार हाल इत्राम, झुप्रा खाेला, खरी खोलाबाट पानी आइरहेको छ । पछिल्लो समय डुङदुरे खोलाबाट २० लिटर प्रतिसेकेण्ड गरी १५३ सेकेण्ड प्रतिलिटर पानी आइरहेको छ ।

दिर्घकालीन योजनाका लागि भेरी पम्पिङको योजना 
खानेपानीको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न भेरी पम्पिङ खानेपानी योजनाको पिपिआर जेठ महिनामा सम्पन्न भएको इन्जिनिएर बालाराम तिवारीले जानकारी दिए । करिब ७ अर्ब ५२ करोड लागतमा सम्पन्न हुने योजनाको टेण्डर यो आर्थिक वर्षमै गर्ने भनिए पनि हुन नसकेको उनको भनाइ छ । आगामी दसैंसम्म टेण्डरको प्रक्रिया सुरु हुने उनको विश्वास छ । उक्त आयोजना सम्पन्न भए करिब पाँच सय लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा आउने छ । संघीय र प्रदेश सरकारको संयुक्त लागतमा बन्ने आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । 

संघीय सरकारले इन्टेक, पम्प हाउस, पानी पोखरी र मुख्य प्रशारण लाइन बनाउनेछ भने प्रदेशले वितरण पाइप लाइनको लागि काम गर्ने भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगतको जलश्रोत तथा उर्जा विकास महाशाखाका सिनिएर डिभिजनल इन्जिनिएर (सिडिई) रमेश सुवेदीले बताए ।

सुर्खेत उपत्यकामा पानी झार्न विश्व बैंकले पनि सहयोग गर्ने (सिडिई) सुवेदीको भनाइ छ । ‘यसमा विश्व बैंकले पनि सहयोग गर्ने भनेको छ, ’ उनले भने, एक चरण छलफल पनि भइसकेको छ ।’


Author

थप समाचार
x