कर्णाली

कर्णाली सरकारले तयार गर्‍यो 'राउटे नीति’

जितेन्द्र थापा |
साउन १, २०७८ शुक्रवार १७:१७ बजे

सुर्खेत - घुमन्ते समुदाय राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे नीति’ तयार पारेको छ । नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका जंगलमा फिरन्ते जीवन बिताउँदै आएको उक्त समुदायको मूल प्रवाहीकरणका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले राउटे नीति तयार गरेको हो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख समुदायको संरक्षणको दायित्व राज्यको भएकाले त्यसतर्फ मन्त्रालय केन्द्रित भएको बताए । उनले पछिल्लो समय राउटे युवतीमाथि भएको बलात्कारको घटनाले राउटे समुदायमाथि नै सुरक्षाको आवश्यकता खड्किएको बताए । ‘लोपोन्मुख राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउन आवश्यक देखेपछि एकीकृत नीति तयार पारेका छौं,’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘नीतिमा स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्नेसम्मका कार्यक्रम समावेश छन् ।


उक्त नीतिमा जंगलमा समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपिवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउने लगायतका विषय समेटिएको सचिव काप्रीले बताए । 

यस्तै, समुदायको सदस्यको मृत्यु भएमा तत्कालै बस्ती सर्ने र त्यो ठाउँमा १० वर्षसम्म फर्केर नआउने राउटे समुदायलाई स्थायी बस्ती बसाउने नीतिमा उल्लेख गरिएको उनको भनाइ छ । उमेर पुगेका राउटे समुदायका नागरिकलाई तत्कालै नागरिकता वितरण गर्ने उल्लेख छ । नीतिमा राउटे समुदायको मुल प्रवाहीकरणका लागि सामाजिक विकास मन्त्रीको अध्यक्षतामा निर्देशक समिति गठनको प्रस्ताव गरिएको छ ।

निर्देशक समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ भने सामाजिक विकास महाशाखा प्रमुख सदस्य–सचिव रहने उल्लेख छ । निर्देशक समितिलाई राउटे समुदायको मुल प्रवाहीकरणका लागि मार्गनिर्देशन गर्ने, आन्तरिक तथा बाह्य समन्वय र सहकार्य गर्ने, बजेटको व्यवस्था गर्ने, राउटे समुदायसम्बन्धी भएका कार्यको अनुगमन गर्नेलगायत छन् । 

राउटे नीतिका विषयमा मन्त्रालयले प्रदेशको सामाजिक विकास समिति र प्रदेश योजना आयोगसँग छलफल समेत गरिसकेको छ । नेपाललाई विश्वजगतमा चिनाउन र नेपालको सांस्कृतिक विविधता झल्काउन महत्वपूर्ण भूमिका खेलेका राउटेहरु दैलेख, जाजरकोट, सुर्खेत, अछाम, दाङ्घ, सल्यान, कालिकोट आसपासका जंगलका छेउ, पहाडको खोंच तथा टाकुरा, नदी किनारमा बसाइँ सरिरहन्छन् ।

आदिवासी–जनजाति प्रतिष्ठान तथा नेपालको जनगणना २०११ अनुसार राउटे समुदाय मेचे, राजी, लेप्चा, कुशवडीया, हायु, किसान, कुसुण्डा, वनकरीया तथा सुरेलसहितका १० लोपोन्मुख आदिबासीमा पर्छन् ।


Author

थप समाचार
x