कर्णाली

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

इकागज |
साउन ७, २०७८ बिहिवार ६:१४ बजे

कालिकोट - अविरल वर्षाले गर्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कोलिकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”

पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै  रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । 


अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र  जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । “पहिरो पन्छाउने काम भइरहेको छ ।” उनले भने, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।”

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए । “उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ’ उनले भने । 


Author

थप समाचार
x