कर्णाली

कुहिएको चामल भन्दै बिक्रीमा रोक

कर्मचारी भन्छन् : आशंकामै बिक्रीमा रोक लगाईयो

इकागज |
असोज ८, २०७८ शुक्रवार १७:१३ बजे

तस्बिर : काठमाडौंबाट कुहिएको चामल आएको भन्दै बिक्रीमा रोक लगाएको चामल ।

सुर्खेत - खाद्य व्यवस्था तथा व्यापार कम्पनी अन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा रहेको वास्मती प्रिमियम चामल विक्रि वितरणमा रोक लगाइएको छ । कम्पनीको केन्द्रबाट आएको उक्त चामलमा कुहिएको चामल मिसाएर पठाएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त चामल विक्रि वितरण गर्न रोक लगाएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतस्थित सम्बन्धित कार्यालयबाट कर्णालीमा वितरण गर्नेगरी साउन १५ देखि भदौ १५ को बीचमा बासमती चामल सुर्खेत पठाएको थियो । त्यो एक महिनाको  अवधिमा एक हजार ९ सय ९० क्विन्टल बासमती चामल सुर्खेत आइपुग्यो । 


अहिलेसम्म त्यसमध्येको १५ क्विन्टल चालम बिक्री भइसकेको छ । अब १ हजार ९ सय ७५ क्विन्टल सुर्खेतस्थित डिपोमा छ । उक्त स्टक रहेको चामललाई  खान योग्य नभएको भन्दै तत्कालका लागि बिक्री गर्न रोक लगाइएको छ । 

सो चामल खानयोग्य नभएको विषयमा सूचना बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले वितरण गर्न रोक लगाएका हुन् ।
खाद्य कम्पनीको थापाथलीमा रहेको चामल गोदामका कर्मचारीको लापरबाहीले गोदाम नम्बर २४ र ३० मा राखिएको चार सय ८७ मेट्रिक टन बासमती चामल कुहिएको समाचार सञ्चार माध्यममा आएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिडन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले तत्कालका लागि उक्त बासमति चामल बिक्रीमा रोक लगाएको जानकारी दिए । ‘मिडियामा कुहिएको बासमती चामल सुर्खेत पठाएको भनेर आएको थियो, हामी खाद्यको गोदाममा हेर्न गएका थियौं,’ थापाले भने, ‘हामीले झट्ट हेर्दा त त्यस्तो बिग्रिएकोजस्तो देखिएन, तर काठमाडौंमा बिग्रिएको भनिएको गोदामहरूमा त्यो चामल छ कि छैन भनेर अनुगमन गर्ने बेलासम्मका लागि उताबाट आएको त्यो चामल वितरणमा रोक लगाएका छौं ।’ 

यता कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख माधव मिश्रले कुहिएको चामल आएको भन्ने कुरा गलत रहेको बताए । ‘यो चामल खानलायक कसरी भएन हामीले यही खाइरहेका छौ’ उनले भने, ‘काठमाडौबाट कुहिएको चामल आएको भन्ने कुरा गलत हो ।’ 

सूचना अधिकारी वासुदेव रिजालले सुर्खेत आएको चामलमा कुनै कम्जोरी नभएको दावी गरेका छन् । उनले आशंकाका आधारमा कुहिएको चामल आएको कुरा उठाएको बताएका छन् । 

‘साउन र भदौमा त्यो चामल आएको हो’ उनले भने, ‘त्यस मध्य १५ क्वीन्टल विक्रि गरिसक्यौ कुनै कम्पेलेन आएको छैन बाँकी कुरा त हाम्रो हेड अफिसलाई थाहा होला ।’  खाद्य प्रविधि विभागले नष्ट गर्ने भन्दै चामल गोदाम सिल गरेको तर खाद्य कम्पनीले कसैको जानकारीबिना आफैं चामल गोदामबाट ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको भन्ने चर्चा भैरहेको उनले बताए । 

 कर्णालीमा चाडपर्वका बेला सधैँ चामल अभाव कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, जुम्ला, कालिकोट र जाजरकोट लगायतका जिल्लामा हरेक बर्ष चाडपर्वमा खाधान्न अभाव हुने गर्दछ तर सहुलियतमा चामल पु¥याउने सरकारबाट जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने त्यसको समाधान गर्न सकेको छैन ।

कम्पनीले समयमै ढुवानी गराउन नसक्दा हिमाली जिल्लाका नागरिकले दशैँ तिहार लगायतका चाडवाडमा खाधान्न अभाव भोग्नु परेको हो । यस बर्ष पनि हुम्ला, डोल्पा र मुगुका खाधा डिपोहरुमा चामल छैन । ढुवानीका लागि ठेक्का प्रक्रिया नटुँगिएका कारण यस बर्षपनि जिल्लाहरुमा दशैँ अघि चाम नपुग्ने संभावना बढेको छ । 

 


Author

थप समाचार
x