कर्णाली

कर्णालीका कृषकको प्रश्न

सहुलियत ऋण कागजी कि वास्तविक कृषकलाई ?

लक्ष्मी भण्डारी |
पुस ३, २०७७ शुक्रबार १८:१४ बजे

 सुर्खेत : कर्णालीका कृषकहरूले सरकारले ल्याएको सहुलियत ऋण कार्यक्रम वास्तविक कृषकहरूले पाउनुपर्ने माग गरेका छन् । ऋण र अनुदानका कार्यक्रमहरू कृषकको हातमा नभइ अन्यत्रै जाने गरेको भन्दै बास्तविक कृषकले पाउनुपर्ने माग उनीहरूको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित कर्णाली सरकार र राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौता कार्यक्रममा सहभागी कृषकहरूले वास्तविक कृषले नै सहुलियत ऋण पाउनुपर्ने बताएका हुन् ।

वीरेन्द्रनगरका कृषक केशरबहादुर आचार्य कृषकको बारीमै पुगेर ऋण दिने कार्यक्रम ल्याउनुपर्ने बताउछन् । ‘तपाइहरूले कृषकका लागि सहुलियत ऋण कार्यक्रम त ल्याउनुभयो, यो राम्रो कार्यक्रम हो’ उनले प्रश्न गरे, ‘यो कागजी कृषकका लागि हो कि वास्तविक कृषकका लागि हो ?’ उनले कृषकका लागि आएको कार्यक्रम खेत बारीमा काम गर्ने कृषकहरूले प्राप्त गर्नुपर्ने धारणा राखे । 


सुर्खेतका कृषक जनकबहादुर ढकालले साना तथा विपन्न कृषकका लागि कार्यक्रम नभएको बताए । विपन्न कृषकहरू लामो प्रक्रियामा गएर ऋण लिन नसक्ने भएकोले उनीहरू यस कार्यक्रमबाट लाभान्वित हुन नसक्ने धारणा राखे ।  कृषक तथा उद्यमी उदिराम डाँगीले ऋण लिने प्रक्रिया झन्झटिलो भएकाले कृषकहरूले प्राप्त गर्न समस्या भएको बताए । ‘बाटो नभएको ठाउँमा बैंक जान मान्दैन भने बाटो नभएका ठाउँका कृषकले कसरी ऋण प्राप्त गर्ने’ उनले भने, ‘सरकारले सहुलियत ऋण प्राप्त गरे पनि यो टाठाबाँठाले मात्र प्राप्त गर्ने अवसर पाएका छन् ।’

सहुलियत ऋण दिन सरकार र वाणिज्य बैंकबीच सम्झौता
कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र वाणिज्य बैंक लिमिटेडबीच शुक्रबार व्यवसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । यसअघि कृषि विकास बैंकसँग पनि ऋण प्रवाहको लागि सम्झौता भएको छ । 

समझदारीपत्रमा हस्ताक्षरपछि कर्णालीका नागरिकले कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।  कर्णाली प्रदेशका १० वटै जिल्लाका  नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने भएका हुन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र बैंकबीच भएको सम्झौता अनुसार उद्यम गर्न चाहने व्यक्ति तथा फर्मलाई वार्षिक दुई प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराइने छ । यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले एक लाख रकमको वार्षिक दुई हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरूले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार एक लाखदेखि एक करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।

बैंकमार्फत १० वटा जिल्लाका शाखाबाट दुई प्रतिशत वार्षिक व्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबीच सम्झौता भएको छ ।  कार्यक्रममा राष्टिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णालीमा रहेका वाणिज्य बैंकका सबै शाखाहरुबाट कृषकहरूलाई सहुलियत ऋण प्रवाह गरिने बताए । उनले यसरी प्रवाह गरिएको ऋणको अनुगमन गरिने व्यवस्था समेत गरिने बताए । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव राजेन्द्रप्रसाद मिश्रले कोभिडको कारणले व्यवसाय गुमाएका तथा विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई यस कार्यक्रमले सहयोग पुग्ने बताए ।

आम्दानी बढाउन सहुलियत ऋण : मुख्यमन्त्री शाही
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आम्दानी बढाउनको लागि सहुलियत ऋण कार्यक्रम ल्याइएको बताए । कार्यक्रममा सम्बोधन गर्दै शाहीले भने, ‘यहाँ परनिर्भरताको सोच बढी छ, यहाँका सम्भावनालाई मध्यनजर गरेर कार्यक्रम ल्याएका हौ ।’

उनले कृषकहरूलाई दिइने अनुदानको कार्यक्रम हटाएर सहुलियत ऋणको कार्यक्रम ल्याइएको बताए । सहकारीमार्फत कृषकलाई ऋण प्रवाह गर्ने गरी कार्यक्रम ल्याइएको मुख्यमन्त्री शाहीको भनाइ थियो । ‘अहिले अनुदान नदिई ऋण दिने भनेर कार्यक्रम ल्याएका छौ’ शाहीले भने, ‘सहुलियत ऋण प्रवाहको लागि ऐन बनाएर सोही अनुरुप ऋण प्रवाह गर्छाै ।’

कृषक आत्तिनुपर्दैन : मन्त्री केसी
प्रदेश भूमि व्यवस्था तथा कृषि  सहकारी मन्त्री विमला केसीले कृषकहरूका लागि ठोस योजना ल्याएर अघि बढेकाले यहाँका कृषकहरू आत्तिनु नपर्ने बताएकी छन् । सहुलियत ऋण कार्यक्रम उत्पादन बढाउने र व्यवसायिकरणको लागि ल्याइएको उनले बताइन् । ‘यो कार्यक्रम मध्यम तथा ठूला कृषकका लागि  लगानी गरी उत्पादन बढाउनेको लागि ल्याइएको हो ’ केसीले भनिन्, ‘साना तथा विपन्न वर्गका लागि छुट्टै कार्यक्रमको तयारी गरेका छौ ।’ साना कृषकको लागि सहकारीमार्फत जाने कार्यक्रम रहेको उनको भनाइ थियो ।

‘यो अवसरलाई प्रयोग गरी कर्णालीको कृषिमा क्रान्ती ल्याउन सबैमा राम्रो अवसर हो,’ मन्त्री केसीले भनिन्, ‘यस अवसरलाई सकारात्मक रुपमा प्रयोग गरेमा बेरोजगार बस्न पर्दैन ।’ रोजगारीको खोजीमा विदेश भौतारिनुको सट्टा सस्तो व्याजदरमा ऋण लिएर गाउँमै स्वरोजगार बन्न युवाहरूलाई उनको सुझाव छ । केसीका अनुसार कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरी उद्यम गर्न चाहानेका लागि थप अनुदानका कार्यक्रम बनाइएका छन् ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x