कर्णाली

शाही सरकारलाई नै निरन्तरता दिन पहल गर्ने माओवादी केन्द्रको निर्णय

लक्ष्मी भण्डारी |
कात्तिक ७, २०७८ आइतबार १२:२२ बजे

सुर्खेत- माओवादी केन्द्रले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई नै निरन्तरता दिन अनुरोध गर्ने निर्णय गरेको छ । सत्ता परिवर्तनको समय नजिकिँदै गर्दा प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले शाही नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो । 

प्रदेश कमिटी सचिव रामदीप आचार्यले पार्टीको नेतृत्वमा सरकार रहेकाले त्यसैलाई निरन्तरता दिन अनुरोध गर्नु स्वभाविक भएको बताए । उनले प्रदेशस्तरमा भएको सहमतिको अर्थ नहुने भन्दै केन्द्रको वर्तमान गठबन्धनले गर्ने निर्णय आफूहरू मान्न तयार रहेको बताए । 


प्रदेश कमिटी बैठकमा बोल्ने सहभागीहरूले तत्कालीन अवस्थामा कांग्रेस र एमालेको माधवकुमार नेपाल समूहसँग भएको सहमतिका विषयमा संसदीय दल र प्रदेश कमिटीलाई जानकारी नभएकाले त्यसलाई पालना गर्न पार्टी बाध्य हुनुपर्ने अवस्था नरहेको बताएका थिए ।

बैशाख २ गते कांग्रेस र नेपाल समूहसँग के–के विषयमा छलफल र सहमति भयो भन्ने विषयमा संसदीय दल र प्रदेश कमिटीलाई औपचारिक जानकारी दिइएन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘मुख्यमन्त्रीले नै यो विषयमा औपचारिक जानकारी नगराएको अवस्थामा पार्टी नेतृत्वको सरकार जोगाउन र पहलकदमी लिन नेतृत्वलाई आग्रह गर्नुपर्ने सामूहिक आवाज बैठकमा उठेको थियो ।’

केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समावजादीका अध्यक्ष माधवकुमार नेपालबीच हुने सहमतिका आधारमा मात्रै कर्णालीको सरकार परिवर्तन हुने वा नहुने विषयमा टुंगो लाग्ने ती नेताले बताए । 

तत्कालीन नेकपा पूर्ववत् अवस्थामा पुगेपछि नेकपा एमालेले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । बैशाख ३ गते विश्वासको मत दिने अघिल्लो दिन माओवादी केन्द्र, नेपाली कांग्रेस र तत्कालीन एमालेको माधवकुमार नेपाल समूहबीच ११ बुँदे सहमति भएको थियो । 

उक्त सहमतिमा शाहीको सत्ता जोगाउन विश्वासको मत दिने, त्यसका लागि माधवकुमार नेपाल समूहका चार जनाले फ्लोरक्रस गर्ने, फलोरक्रस गरेकालाई पार्टीले कारवाही नगरेमा साउन १ गते कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने, कारबाही गरेको खण्डमा छ महिनापछि कांग्रेस नेतृत्वमा सरकार बनाउने उल्लेख थियो । 


Author

थप समाचार
x