कर्णाली

कर्णालीमा मुख्यमन्त्रीका आकांक्षी शाही भन्छन्- माओवादीबाट बेइमानी हुँदैन भन्‍ने विश्‍वास छ

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १३:७ बजे

सुर्खेत- कर्णाली प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी जीवनबहादुर शाहीले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । वैशाख दुई गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने चर्चा भइरहेको बेला शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आफूले गरेको सम्झौता विपरीत केन्द्रबाट निर्देशन आए पनि आफूले नमान्ने बताए । 


बैशाख दुई गते भएको उक्त सम्झौता फेरबदल हुने चर्चा परिचर्चा बारेमा शाही भन्छन् ‘माओवादी पार्टी नै क्रान्तिकारी हो । यसले सम्झौताविपरीत गर्दैन भन्ने मलाई लागेको छ र पार्टीबाट बेइमानी हुँदैन भन्ने मलाई पूर्ण विश्वास छ ।’  

मुख्यमन्त्रीका आकांक्षी तथा काँग्रेस नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम हुने बताए । ‘सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने’  इकागजसँग कुरा गर्दै शाहीले भने, ‘अहिले विभिन्न अनलाइनहरू र मिडियामा आएको कुराहरूले नागरिकहरूमा चासो हुनु स्वभाविकै हो । उहाँहरूले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा 'देखा जाहेगा' ।’

नेपाली काँग्रेस कर्णालीका संसदीय दलका नेतासमेत रहेका शाहीले केन्द्रको निर्देशनमा कर्णालीमा भएको सम्झौतामा फरक नपर्ने बताएका छन् । आलोपालो सरकार सञ्चालनको सम्झौतामा माओवादीले बेइमानी गरे काँग्रेसले साथ नदिने प्रतिक्रिया दिएका छन् । 

मुख्यमन्त्री परिवर्तनको चर्चा सुरु भएसँगै कर्णालीमा यतिबेला सत्ताको लडाइँ पुनः सुरु भएको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिएका थिए । विश्वासको मत लिँदै गर्दा उनले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत गरेका थिए, जसअनुसार मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेसँगै काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको दाबी गरेका छन् । 

यता, मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने केन्द्रको निर्देशन कुरेर बसेका छन् । केन्द्रमा  बनेको गठबन्धनले प्रदेश सरकारमा समेत भागवण्डा गर्ने एकथरीले बताइरहँदा कर्णालीको हकमा भने काँग्रेसले केन्द्रीय गठबन्धनको निर्णयसमेत नमान्ने नेता शाहीले बताएका छन् । 


Author

थप समाचार
x