कर्णाली

कर्णालीमा मन्त्रिपरिषद् विस्तारकाे तयारी- कुन पार्टीलाई कति मन्त्रालय

लक्ष्मी भण्डारी |
कात्तिक २३, २०७८ मंगलबार १३:४ बजे

सुर्खेत- गत बैशाख दुई गते सत्ता सञ्‍चालनका लागि आलोपालो गर्ने सहमति भए अनुसार तिहार अगाडि कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएका थिए । तिहारलगत्तै मन्त्रिपरिषद् विस्तारको काम अघि बढाउने भनिएतापनि गठबन्धन दलका नेताहरु सुर्खेत बाहिर भएका कारण एक दुई दिन ढिला हुने बताइएको छ । 

‘मुख्यमन्त्री ज्यु आफ्नो गृहजिल्लाबाट हिजो(सोमवार) सुर्खेत आउनुभएको छ, अन्य दलका नेताहरु सुर्खेत बाहिर हुनुहुन्छ र उहाँहरु यहाँ आउनुभयो भने हाम्रो छलफल हुन्छ र मन्त्रालयको भागबण्डा टुंगिन्छ’ प्रदेशसभाका सांसद एंव कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले भने । गठबन्धनका दलहरु बसेर छलफल भयो भने अबको दुई-तीन दिनमा मन्त्रीहरुको पनि टुंगो लाग्ने उनले बताए । 


अहिले कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच दलमध्ये तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन सरकारमा छ भने एमाले र राप्रपा सरकार बाहिर छन् । 

गठबन्धनसँगको लिखित सहमतिअनुसार नेकपा माओवादी केन्द्रले नेतृत्व गर्दै आएको कर्णालीमा गत कातिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका थिए । कातिक १६ गते नै मुख्यमन्त्रीको सपथ लिएका नवनियुक्त मुख्यमन्त्री शाही अबको केही दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने गृहकार्यमा छन् । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादीका कर्णाली ईन्चार्ज प्रकाश ज्वाला सुर्खेत बाहिर छन् । मुख्यमन्त्री शाही पनि हिजोमात्र सुर्खेत आइपुगेका छन् । तीन पार्टीका शीर्ष नेतृत्व बाहिर रहेकाले आजसम्ममा सुर्खेत फर्किसक्ने तयारी छ । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिनेबारे छलफल गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक शाही बताउँछन् ।

यता नेकपा एकीकृत समाजवादीका कर्णाली इन्चार्ज प्रकाश ज्वालाले गठबन्धनको बैठकबाट मन्त्रालयको भागबण्डा टुंग्याएर चाडै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रतिक्रिया दिएका छन् । ज्वालाका अनुसार गठबन्धनका शीर्ष नेताहरु सुर्खेत बाहिर भएका कारण बैठक बस्न नसकेको बताए । गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि मन्त्रालयको भागबण्डा टुंगिने बताइएको छ । 

कुन दलले कति मन्त्रालय पाउने
कांग्रेसले मुख्यमन्त्री र अन्य दुई मन्त्रालयको दाबी गरेको छ । तर कांग्रेसले मुख्यमन्त्रीसहित थप एक मन्त्रालय पाउने भन्ने चर्चा चलेको छ । त्यसैगरी माओवादी र एकीकृत समाजवादीले तीन-तीन वटा मन्त्रालयको दाबी गरेका छन् ।

‘अहिलेसम्म कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्रालय पाउने भनिएको छ’ उनले भने, ‘माओवादीले तीन अथवा चार वटा मन्त्रालयको दाबी गरेको छ र समाजवादीले पहिलेदेखि नै तीन वटा मन्त्रालयको दाबी गरिरहेको छ ।’  बैशाख दुईमा गठबन्धनभित्र भएको ११ बुँदे सहमतिमा कुन दलले कति मन्त्रालय लिने भन्‍नेबारे किटान भने नगरिएको सांसदहरुको भनाई छ  । 


Author

थप समाचार
x