कर्णाली

कर्णालीका सांसदहरू अन्योलमा

लक्ष्मी भण्डारी |
पुस १०, २०७७ शुक्रबार १२:१६ बजे

सुर्खेत : प्रतिनिधिसभा विघटनपछि त्यसको प्रभाव प्रदेश र जिल्लामासमेत देखिन थालेको छ । केन्द्रमा पार्टी दुई समूहमा विभाजित भएपछि कर्णाली प्रदेशका मन्त्री र सांसदहरू अन्योलमा देखिएका छन् । गृहमन्त्री रामबहादुर थापा निकटका मन्त्री र सांसदले उनको साथ छोडेका छन् । त्यसैगरी पूर्वमाओवादीबाट सांसद बनेका दुई जना सांसदहरूले ओली पक्षलाई साथ दिएका छन् । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र सांसद कृष्णा शाहले गृहमन्त्री थापाको साथ छाडेका हुन् । भण्डारी जुम्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद हुन् भने शाह जाजरकोट निर्वाचन क्षेत्र  नम्वर १ बाट प्रतिनिधित्व गर्ने समानुपाति सांसद हुन् । पूर्वमाओवादीको तर्फबाट सांसद बनेका भण्डारी र शाह दुवै जना  दाहाल–नेपाल समूहमा प्रवेश गरेका छन् । 


नेकपा विभाजनमा गृहमन्त्री रामबहादुर थापाले ओलीलाई साथ दिदा उनी निकट सांसदले उनको साथ छाड्नुलाई चर्चाको साथ हेरिएको छ । यस विषयमा मन्त्री भण्डारीले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । भण्डारीले थापा समूह छोड्नुको अघिल्लो दिन वीरेन्द्रनगरमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेपाली राजनीतिक आकाशमा कालो बादल मडारिएको अनुभुति भइरहेको प्रतिक्रिया दिएका थिए । 

त्यसैगरी पूर्वमाओवादीबाट सांसदको प्रतिनिधित्व गरेका सांसद धर्मराज रेग्मी र ठम्वर विष्ट प्रधानमन्त्री केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन् ।  दैलेख क्षेत्र नम्वर एक (क) बाट निर्वाचित सांसद रेग्मी र सुर्खेत क्षेत्र नम्वर १(क) बाट निर्वाचित सांसद ठम्वर विष्टले ओली पक्षलाई साथ दिएका हुन् । 

रेग्मी र विष्टले असोज २५ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेको केही समयपछि विष्टले अविश्वासको प्रस्ताव फिर्ता गरेका थिए भने सांसद रेग्मी आफ्नै अडान कायम राखे । सांसद रेग्मीले केन्द्रमा भएको नेकपाको विभाजनले कर्णालीमा पनि जोखिम निम्तिएको बताउँछन् । 

सांसद रेग्मी र विष्ट ओली समूहको बैठकबाट केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा मनोनित भएका छन् । कर्णाली प्रदेशसभाका ४० सांसदमध्ये २० सांसद पूर्वएमालेका छन् भने १३ जना पूर्वमाओवादीका रहेका छन् ।

नेपाली काँग्रेसबाट ६ र राप्रपा नेपालबाट एक जना सांसदले प्रतिनिधित्व गरेका छन् । अहिलेकै अवस्थामा नेकपा फुटेमा दाहाल–नेपाल समूह बलियो देखिन्छ । यद्यपि अहिलेकै अवस्था जस्तै सांसदहरू यता र उताका पक्षमा धरमर गरिरहे भने नेपाली काँग्रेसको  भूमिका निर्णायक हुने देखिएको छ ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x