कर्णाली

उद्योग वाणिज्य महासंघ कर्णालीमा शाही

लक्ष्मी भण्डारी |
पुस १०, २०७७ शुक्रबार १५:३२ बजे

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्षका उम्मेदवार पदमबहादुर शाही ।

सुर्खेत : नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा सुर्खेतका पदमबहादुर शाही चयन हुने भएका छन् । शनिबार(भोली) हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म उनको मात्र उम्मेदवारी परेको हो । शनिबार (भोली) निर्वाचनमा शाहीको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित हुने निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।

सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्ष समेत हुन् । शाहीसँगै एसोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एसोसियट तर्फको सदस्यमा सीताराम कार्की र झबिन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।


जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला–नगरको ५ सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नबिन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञावली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको छ ।

वीरेन्द्रनगरमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार शाहीले व्यवसायीको हकहितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘हिजो पनि मैले नेतृत्व गर्दै आएको थिए, व्यवसायी साथीहरुले यसपाली पनि मलाई समर्थन गर्नुभएको छ’ शाहीले भने, ‘व्यवसायीक हकहितदेखि निति निर्माणका काममा अग्रसर भएर लागेका छौ ।’

*यही समाचारमा यसअघि प्रकाशित फोटो अन्यथा परेकोले सच्याएका छौं । - सम्पादक


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x