कर्णाली

कर्णालीमा मन्त्रिपरिषद् विस्तारको टुंगो लागेन

लक्ष्मी भण्डारी |
मंसिर १३, २०७८ सोमबार १५:४१ बजे

सुर्खेत - मंसिर १४ पछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने भनिएतापनि मन्त्रालयको भागबण्डाको विषयमा अझै टुंगो लाग्न सकेको छैन । सरकारलाई पूर्णता दिने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच आरोप प्रत्यारोपको वातावरण सिर्जना भएको छ । गठबन्धनमा रहेका तीनवटै दलले आ आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रालय भागबण्डामा कुरा मिल्न सकेको छैन ।

जसका कारण जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको करिब एक महिना पुग्न लाग्दासम्म मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । कर्णालीमा मन्त्रालयको संख्या आठ वटा छन् तर सत्ता गठबन्धनबाट यो भन्दा धेरै संख्यामा मन्त्रालयको अडान राखेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गरेको छ । एकीकृत समाजवादीले तीन वटा मन्त्रालय नछाड्ने अडान राखेको छ । समाजवादीका केन्द्रीय सदस्य एंव सांसद देवी वलीले आफूहरु संघर्ष गरेर तत्कालीन सरकारलाई बचाएका कारण यो अडानबाट पछि नहट्ने बताउँछिन् ।


 यता काँग्रेसले पनि मुख्यमन्त्रीबाहेक दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तीन वटै दलहरु आफ्नो अडानबाट पछि नहटेपछि मन्त्रालय भागबण्डामा समस्या देखिएको छ । सत्ता गठबन्धनका दलहरुसँग छलफलमा बसेतापनि भागबण्डाको विषयमा कुरा मिल्न नसकेको काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए ।

अहिलेसम्म मन्त्रिमण्डललाई पूर्णता दिनेबारे शाहीले नै ‘एक्सन’ लिन नसकेको सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आरोप लगाएको छ ।  काँग्रेसले भने माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्री छनोटको विषयमा छलफल नगरेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको आरोप लगाएको छ । 

यसरी सुरुमै सत्ता साझेदार दलहरुबीच नै आरोप–प्रत्यारोप सुरु भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सरकार सञ्चालनमा कठिनाई हुने देखिदै छ । शाहीले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा प्रदेशका सात वटा मन्त्रालयको जिम्मेवारी आफै सम्हाल्दै आएका छन्, जसले गर्दा कार्यसम्पादनमा शाहीलाई समस्या भइरहेको छ ।

यसैबीच प्रदेश सरकारले भोलि मंगलबारका लागि प्रदेशसभा बैठक आव्हान गरेको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रायोजनका साथ प्रदेशसभा बैठक आव्हान गरे पनि माओवादी केन्द्रले भने बैठकबारे आपत्ति जनाएको छ । सत्ता साझेदार दलहरुबीच कुनै समन्वय, छलफल नगरी बैठक आव्हान गरिएको माओवादी केन्द्र संसदीय दलका सचेतक ठम्मरबहादुर विष्टले बताए ।  
 


Author

थप समाचार
x