कर्णाली

सुर्खेतमा ८० बढी मानव अधिकार उल्लघंनका घटना

लक्ष्मी भण्डारी |
पुस १३, २०७७ सोमबार १६:२४ बजे

सुर्खेत : एक वर्षको अवधिमा सुर्खेतमा ८० भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ । अनौचारिक सेवा केन्द्र इन्सेकले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो । 

वर्ष  पुस्तकको लागि इन्सेकले संकलन गरेका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसा र बलात्कारका घटना घटेका छन् । जसमा एक वर्षको अवधिमा ६२ वटा हिंसाका घटना घटेका छन् । त्यसैगरी बलात्कारका ६ वटा, तीन जना गिरफ्तारमा परेका एक जनाको हत्या भएको इन्सेकले जनाएको छ । 


चारवटा यौन दुव्र्यवहार, चारवटा वालविवाह, गालीगलौज र अनादरका एक÷एक वटा घटना घटेका इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा थापाले जानकारी दिए ।  त्यसैगरी जिल्लामा हुने विभिन्न झडपका घटनामा पनि मानव अधिकार उल्लंघनका घटनाहरु घटेको थापाले जानकारी दिए । 

धेरैजसो घटनामा पीडक पक्ष फरार रहेको इन्सेकका अभिलेख अधिकृत टिका विष्टले बताइन् । अहिलेको परिस्थितिमा मानव अधिकार उल्लघंनका घटनाहरू  बढ्न सक्ने विष्टले बताइन्  । राज्य पक्षले आफूबाट भएका गल्ती तथा कमजोरीलाई सुधार्दै मानवअधिकार मैत्री बन्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव अधिकार उल्लघंनका अधिकांश घटनामा २५ वर्ष मुनिका युवाहरूको अधिकार हनन भएको बताए । उनले युवाहरू र सिर्जनशिल उमेर समूहमा नै मानव अधिकार हनन् भएको पाइएको बताए । 

प्रमुख जिल्ला अधिकारी रेग्मीले प्रादेशिक राजधनीको रुपमा रहेको सुर्खेत विकाससँगै अपराधको हव हुने जोखिम रहेको बताए । ‘राजधानी भएकोले पनि पछिल्लो समयमा सुर्खेतमा निरन्तर जनसंख्या बढेको छ । यसले यहाँको शान्ति सुरक्षा नियन्त्रणमा चुनौती दिइरहेको छ’ उनले भने, ‘अन्य जिल्लाबाट अपराध गरेर यहाँ लुक्न आउनेहरूको जमात बढ्न सक्ने देखिएका कारण यहाँ जोखिम बढेका छन् ।’

उनले अपराध न्यूनिकरण गर्नका लागि सबै पक्ष सजग र सचेत हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भट्टले मानव अधिकार उल्लघंनका घटनाका कतिपय पीडकहरू कारवाहीको शिलशिलामा रहेको बताए । उनले फरार रहेका अभियुक्तहरूलाई लामो समयपछि पक्राउ गर्न समेत सफल भएको जानकारी दिए ।


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x