कर्णाली

जुम्लामा सार्वजनिक यातायातको नयाँ भाडा कायम, व्यवसायी भन्छन्- लागू गर्न सकिँदैन

इकागज |
पुस ३०, २०७८ शुक्रबार १०:५ बजे

जुम्ला- जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको  भाडादर निर्धारण गरेको हो ।

अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएको छ ।


जुम्लादेखि सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएको छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएको छ । जीपमा जाँदा झन बढी १ हजार २  सय ९ रुपैयाँ तिर्नुपर्नेछ ।  जुम्लादेखि काठमाडौंको बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएको छ । डिलक्स र एसी बसको भाडा अझ बढी हुन्छ ।

छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएको छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ ।

जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएको छ ।  जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएको छ ।

जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।  जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेको छ ।

जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए  ।

उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएको छ । 

सरकारले निर्धारण गरेको भाडादर लागू नगर्ने व्यवसायीको अडान  
यातायात  व्यवसायिकले भने सरकारबाट निर्धारण भएको भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएको बताए । 

विगतमा छोटो दूरीमा कम्तिमा ६० र लामाे दूरीमा १ हजार ५ सय कायम हुनुपर्ने उनको माग छ । सरकारी भाडादर लागू गर्न नसकिने उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।


Author

थप समाचार
x