कर्णाली

कर्णाली सरकारद्वारा कोभिड–१९ व्यवस्थापनको लागि सात करोड बजेट

इकागज |
माघ ५, २०७८ बुधबार १५:२० बजे

सुर्खेत– कर्णाली प्रदेश सरकारले कोभिड–१९ को तेस्रो लहर व्यवस्थापनका लागि सात करोड बढी बजेट व्यवस्थापन गरेको छ । (कोभिड–१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि सरकारले सात करोड ४४ लाख बजेट व्यवस्थापन गरेको हो । 

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ पठाइएको जानकारी दिए ।


शववाहन खरिद गर्न दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिमका स्वास्थ्य सेवा कार्यालयलाई प्रतिअस्पताल १२ लाखका दरले ४८ लाख पठाईसकिएको उनको भनाइ छ। प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड बजेट छुट्याईएको छ भने सुर्खेतको पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट सम्बन्धित कार्यालयलाई पठाइसकिएको पनि मुख्यमन्त्री शाहीले बताए ।

जिल्लास्थित विभिन्न स्थानीय तहमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि प्रतिइकाई ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराइ सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको उनले जानकारी दिए । 

‘कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको अभाव सामना गर्नुपरेको थियो’ उनले भने, ‘अक्सिजन व्यवस्थापनको लागि कर्णाली सरकार र अन्य साझेदारी नकायको सहयोगमा व्यवस्थापन गरिएको छ ।’ कोभिड व्यवस्थापनको लागि कर्णाली सरकारले प्रयास जारी राखेको मुख्यमन्त्री शाहीको भनाई छ । 
 


Author

थप समाचार
x