कर्णाली

अब्बल उपप्रमुख ‘मोहनमाया’

लक्ष्मी भण्डारी |
पुस २८, २०७७ मगलवार १६:३४ बजे

मोहनमाया ढकाल

सुर्खेत : हरेक सफलतापछाडि लामो संघर्ष हुन्छ । निरन्‍तरको संघर्षले सफलताको बाटो तय गर्छ । वीरेन्द्रनगरकी मोहनमाया ढकालले जीवनमा गरेको संघर्ष र प्राप्त गरेको सफलता प्रेरणादायी छ । 

३९ बसन्त पार गरेकी ढकाल प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख हुन् । उनले अघि बढाएका योजना तथा कार्यक्रमहरू प्रदेश र स्थानीय सरकारहरूले पनि पनि अनुसरण गर्न थालेका छन् । 


सामान्य परिवारमा जन्मिएकी उनलाई अहिलेको अवस्थामा पुग्छु भन्‍ने लागेको थिएन । साविक गर्पन गाविसमा उनको बाल्यकाल बित्यो । त्यहीँबाट उनले एसएलसी गरिन्  । सानै उमेरमा वैवाहिक परिबन्धमा परिन् । जिम्मेवारी थपियो । एकातिर घरव्यवहारको जिम्मा अर्काेतिर पढाइ । परिवारको चाहना जागिर खाओस् भन्‍ने थियो । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेकी उनले एलएलबीसमेत गरिसकेकी छन् । भन्छिन् ‘उपप्रमुखले कानुन पढ्नै पर्ने रहेछ ।’

हाम्रोजस्तो नेपाली समाजमा बुहारीहरूले नेतृत्व गर्नु सामान्य कुरा होइन । घरपरिपारसँगै बच्चा काखमा च्यापेर संघर्ष गरेको स्मरण गर्दै उनी भन्छिन्, ‘विगतलाई हेर्दा आफ्नै जीवन टेलिफिल्म जस्तो लाग्छ ।’ 

विवाहपछि उनले जिम्मेवारीसँगै आफ्नो व्यक्तित्व विकासलाई पनि सँगसँगै अघि बढाइन् । उनी भन्छिन् ‘विवाहअगाडि मलाई सामाजिक काम र नेतृत्वको बारेमा केही थाहा थिएन, विवाहपछि मात्र सबै कुराको अनुभव गर्न थाले ।’ आफू यहाँसम्म पुग्‍नुमा श्रीमानको साथ र सहयोग महत्‍वपूर्ण रहेको उनी बताउँछिन् ।

जतिबेला महिला राजनीतिमा विरलै मात्रामा आउँथे । आए पनि नाममात्रको राजनीति हुन्थ्यो । महिलाले राजनीति गर्नहुँदैन भन्ने धारणा थियो । तर उनले उक्त धारणालाई चिरेरअघि बढिन् । चुनौतीको सामना गरिन् । तर, हिम्मत हारिनन् । यही हिम्मत नै उनको सफलताको सिँढी बन्यो ।

२०६२ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अखिल नेपाल महिला संघ हुँदै तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्य, सचिवालयसम्म पुग्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अत्याधिक मत प्राप्त गरेर उपमेयरमा विजय प्राप्त भइन् ।

उपप्रमुख हुने वित्तिकै छोरीमैत्री नगरपालिकाको रुपमा विकास गर्नको लागि छोरी जन्म बचत खाता कार्यक्रम सुरुवात गरिन् । जुन् एकदमै लोकप्रिय बन्यो । नगरपालिकालाई छोरीमैत्री बनाउनको लागि अहिले छोरी जन्मेपछि बैंकमा एक हजार रुपियाँको खाता खोलिदिने गरिएको छ । लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्तिले नगरपालिकामा जन्मने छोरीहरूको संख्या कम हुन थालेपछि यस्तो अभियान थालिएको उनी बताउँछिन् । भन्छिन्, ‘छोरी जन्मिएकोमा गर्व होस् भन्ने उदेश्यले पनि यो कार्यक्रम पहिलो नगरसभाबाट पास गरिएको हो ।’

अहिले यो कार्यक्रम कर्णाली प्रदेश सरकारले पनि लागु गरेको छ भने जिल्लाका अन्य स्थानीय तहहरूमा पनि यो कार्यक्रम सुरु भएको छ । त्यसैगरी महिला तथा किशोरीको स्वास्थ्यमा सुधार गर्नको लागि नगरपालिकाका निःशुल्क प्याड वितरणको कार्यक्रम पनि लागु भएको छ । अहिले किशोरीहरू नजिकको स्वास्थ्य संस्थामा गएर प्याड लिएर आउँछन् । त्यतिमात्र होइन उनीहरू स्वास्थ्य जाँच पनि गराएर आउन थालेका छन् । 

त्यसैगरी महिला स्वरोजगार अन्र्तगत लोकप्रिय कार्यक्रम महिलाका लागि अटो रिक्सा रहेको छ । जुन् कार्यक्रम अन्र्तगत महिलालाई अटो चालकको तालिम प्रदान गरेर अटो खरिदको लागि अनुदानको समेत व्यवस्था भएपछि पछिल्लो समय वीरेन्द्रनगरमा महिलाले अटो चलाएर जिवन निर्वाह गर्न थालेका छन् । अहिले करिव ३० जना महिलाले अटो चलाएर राम्रो आम्दानी गरिरहेका छन् । १० जना महिलाले तालिम लिदै गरेका छन् । उनीहरूले अटो चलाउन थालेपछि अन्य महिलाको पनि यस व्यवसायतर्फ आर्कषण बढ्न थालेको छ । 

त्यसैगरी बजारका महिलाहरू दुध डेरी र मसला उद्योग सञ्चालन गरेका छन् भने गाउँमा बाख्रापालन, भैसीपालन तथा बंगुरपालन व्यवसायलाई जोड दिएका छन् । जसबाट उनीहरू राम्रो आम्दानी गर्न सफल भएका छन् । यस्तै नगरमा निःशुल्क एम्बुलेन्स सेवासँगै यहाँका १६ वटै वडामा पाठेघर खस्ने समस्या भएका महिलालाई निःशुल्क पहिचान गरी उपचार पनि पनि गरेपछि महिलाहरू खुशी व्यक्त गरेका छन् । 

‘महिलाहरू आर्थिक रुपमा परनिर्भर भएकै कारण हिसां हुने गरेकाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउने अभियानमा छौ’ उनी भन्छिन्, ‘नगरमा महिला स्वरोजगार कार्यक्रमलाई विशेष जोड दिएका छौ । जुन् सफल पनि भएको छ ।’

महिला स्वरोजगारसँगै कोरोना व्यवस्थापनमा समेत सफल नेतृत्व गरेकी थिइन् । नगरपालिकाका मेयरको व्यवस्तताले उपस्थित हुन नसकेपछि कार्यबहाक मेयरको रुपमा नेतृत्व गरेकी थिइन् । कोरोनाको संक्रमण हुने डरले धेरैजसो जनप्रतिनिधिहरू घरमै बस्थे तर उनी हरेक क्वारेन्टिन र आइसोलेसन सेन्टरमा पुग्ने गर्थिन् ।
त्यतिबेला राहत दिन घर घरमा पुगेकी थिइन् भने हरेक क्वारेन्टिन र आइसोलेसनमा पुगेर संक्रमितहरूलाई साहस दिने गर्थिन् । महिलाको लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको थियो । जसका कारण महिला सुरक्षित र ढुक्कसँग बसेका थिए । 

कतिपय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तह बाहिरका नागरिकलाई बास्ता गरेका थिएनन् । तर, कर्णालीको प्रवेशद्धारको रुपमा रहेको वीरेन्द्रनगरमा भने सबै नागरिकलाई समान व्यवहार गरिएको थियो । भारतबाट रोजगारी गुमाएर कर्णाली फर्कने सबै नागरिकहरूलाई खाना खुवाएर सुरक्षित रुपमा गन्तव्य सम्म पुर्‍याउन सफल भइन् । जसले गर्दा कर्णालीकै स्थानीय तहमध्येमै अब्बल उपप्रमुखको रुपमा पहिचान बनाउन सफल भएकी छन् ।


Author

थप समाचार
x